संसद् विघटनबारे रास्वपा सांसदकै दुईथरी मत : तोसिमा कार्की पक्षमा उभिँदा सोविता गौतम विपक्षमा

सोविता भन्छिन् ; ‘जनताको सर्वोच्चता कायम राख्ने संस्था विघटन हुनु भनेको जनताको सर्वोच्चता संकटमा पर्नु हो’

लोकपथ
2.3k
Shares

काठमाडौं । संसदबाट सामूहिक राजीनामा दिएर ताजा जनादेशमा जाने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुबीच यो विषयमा फरक मत देखिन थालेको छ । यसअघि सामूहिक राजीनामा दिएर ताजा जनादेशमा जाने निर्णय गरेको रास्वपाकै एक सांसद सोविता गौतम यो विषयमा फरक मत राख्दै संसद् बचाउको पक्षमा उभिएकी छिन् । 

उनले बुधबार राति सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै संसद् र संविधान जोगिनुपर्नेमा जोड दिएकी हुन् । ‘भ्रष्टाचारीको विरुद्ध म जति कटिबद्ध छु, नेपालको यो व्यवस्था बचाउन पनि त्यतिकै अडिग छु । नेताहरू पो भ्रष्ट भएका हुन् । सही मान्छे जनताले निर्वाचित गरेर पठाए भने कानुन बनाएर भ्रष्टाचारीहरूलाई कानुनको दायरामा लिएर आएर तिनका सम्पत्तिहरू राष्ट्रियकरण गर्नसम्म पनि सकिन्छ नि ! बस ! नेपाली जनताले सही मान्छे निर्वाचित गरेर पठाउनुचाहिँ पर्‍यो । यो जनताको सर्वोच्चता कायम हुन्जेलसम्म मात्रै सम्भव छ फेरि । जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले यो विघटन गर्न पाइँदैन । जनताको सर्वोच्चता कायम राख्ने संस्था विघटन हुनु भनेको जनताको सर्वोच्चता संकटमा पर्नु हो । देशको सर्वोच्चता संकटमा हुनु हो । नेपाली जनतामा निहित रहेको सार्वभौम सत्ता र राजकीय सत्ता संकटमा हुनु हो । जुन संविधानमा लेखिएको छ, त्यो नै संकटमा हुनु हो । संसद् विघटन हुनुचाहिँ स्वीकार्य छैन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा भिडिओ मार्फत भनेकी छन् ।

उनको यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उनी काठमाडौंको क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।  

जेन–जी आन्दोलन उत्कर्षतिर अभिमुख हुँदै गर्दा मंगलबार रास्वपाका २० जना (उपसभामुख इन्दिरा रानामगरबाहेक) ले सामूहिक राजीनामा दिएका थिए ।

‘वर्तमान संघीय संसद्ले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै आगामी निकासका लागि शीघ्र अन्तरिम नागरिक सरकार गठनको प्रस्ताव गर्दै, सरकारबाट हत्या गरिएका जेन–जी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको शीघ्र एवं निःशुल्क उपचारको पक्षमा रहँदै, देशको मुख्य सम्पत्ति जेन–जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरू (सांसदहरू ले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत रहेको जानकारी गराइन्छ,’ सचिवालय बैठकले निर्णय गर्दै भनेको थियो । 

उता, रास्वपा सांसद डा. तोसिमा कार्कीले भने अविलम्ब संसद् विघटनको माग गरेकी छन् । 

‘दुई वर्षसम्मको संसदीय अभ्यासले सिकाएको कुरा; अहिलेको वर्तमान संविधानले स्थिर सरकार दिन सक्दैन र जनमतको धज्जी उडाउने गरी सरकारमा गठबन्धनका खेलहरू मात्र खेलिन्छन् त्यसैले पार्टीले बहुमत ल्याउन सक्ने वातावरण बनाउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ल्याउने र प्रदेश सरकार खारेज गर्ने हिम्मत अब राख्नुपर्छ,’ सामाजिक सञ्जालमार्फत डा. तोसिमा कार्कीले तर्क गरेकी छन् ।

लोकतन्त्रलाई थप उन्नत बनाउन पनि अरू थुप्रै संशोधनहरू अत्यावश्यक रहेको उनले बताएकी छन् ्। त्यसलाई नेपालको परिमार्जित नयाँ संविधानको रूपमा अघि लैजान सकिने उनको मत छ। 

‘त्यसैले पनि अब ढिला नगरी यो संसद् विघटन गरिनुपर्छ। त्यसपछि अन्तरिम सरकारले परिमार्जित नयाँ नेपालको संविधानअनुसार चुनाव गराएर जनताको स्थिर सरकार बनाउनतिर अग्रसर हुनुपर्छ,’ उनले भनेकी छन् ।

डा. कार्की ललितपुर–३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?