काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूमध्ये ३५ जनाको बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा शल्यक्रिया गरिएको छ ।
अस्पतालकी प्रशासकीय अधिकृत रञ्जना नेपालका अनुसार आन्दोलनको क्रममा घाइते भएर अस्पताल पुगेका ४३६ जनामध्ये ४८ जना भर्ना भएका थिए । तीमध्ये ३५ जनाको शल्यक्रिया गरिएको र ४४ जनालाई अन्य अस्पतालमा रिफर गरिएको उनले बताइन् । सामान्य उपचारपछि ३४४ जनालाई डिस्चार्ज गरिएको छ ।
उपचारका क्रममा सोमबार ३ र मंगलबार ३ गरी ६ जनाको मृत्यु भएको जानकारी प्रशासकीय अधिकृत नेपालले दिइन् । मृतकको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल, महाराजगञ्ज पठाइएको छ ।
उनका अनुसार हाल अस्पतालमा बिरामी उपचारका लागि पर्याप्त जनशक्ति र रगत उपलब्ध रहेको छ । तर मंगलबार अस्पतालभित्रै सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्जसमेत गरेको उनले बताइन् । उक्त घटनामा एक जना चिकित्सकसमेत घाइते भएको उनले जानकारी दिइन् ।
नेपालका अनुसार आन्दोलनकारीलाई अस्पतालभित्र छिर्न दिएको आरोपमा सुरक्षाकर्मीले लाठीचार्ज गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया