धादिङ । कारागार कार्यालय धादिङमा कैदीबन्दीले आगजनी गरेपछि भएको फायरिङमा दुई जनाको मृत्यु भएको छ । आगजनीपछि कारागार तोडफोड गरी भाग्ने खोजेका उनीहरूलाई रोक्दा ७ कैदीबन्दी र ६ जना प्रहरी घाइते भएका छन् ।
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार कैदीबन्दीले आगजनी गरेपछि सुरक्षाका लागि पुगेका सेनासहितको सुरक्षाकर्मीले गोली चलाउनुपरेको थियो ।
सिडिओ सुवेदीका अनुसार सुरक्षाकर्मीले सुरुमा सम्झाई बुझाई गर्दा नमानेपछि पानीको फोहोरा हानिएको थियो । त्यसपछि पनि सुरक्षाकर्मीले बल प्रयोग गरी उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो । तर जेलमा रहेका कैदीबन्दीले ढुङ्गा र घरेलु हतियारले सुरक्षाकर्मीमाथि नै आक्रमण गरेको थियो ।

स्थिति नियन्त्रणमा लिनका लागि पछि सुरक्षाकर्मीले गोली चलाउनु परेको थियो जहाँ २ जनाको ज्यान गएको छ । झडपका क्रममा ७ जना कैदीबन्दी र ६ जना प्रहरीसमेत घाइते भएका छन् । (यसअघि ८ जना घाइते भएकामा एक जनाको मृत्यु भएको ।)
सिडिओ सुवेदीका अनुसार सुरक्षाकर्मीको गोली लागेर बेनीघाट ४ धादिङका अन्दाजी ७५ वर्षका जीत बहादुर घले तथा सुनवल नगरपालिका १२ नवलपरासीका अन्दाजी ३६ वर्षका इन्द्र बहादुर डालामगरको मृत्यु भएको छ । घले जबरजस्ती करणीका दोषी हुन् भने डालामगर लागूऔषधको मुद्दामा जेल पुगेका थिए ।
घलेलाई गोली लागेपछि उपचारका लागि अस्पताल पुराएकामा त्यहीँ मृत्यु भएको हो भने डालामगरको शव अहिले पनि कारागार भित्रै रहेको छ । उनको शवलाई बाहिर निकाल्ने कोसिस भइरहेको सिडिओ सुवेदीले बताए । उनले भने, ‘डालामगरको शव अहिले पनि कैदीबन्दीकै कब्जामा छ, हामी वार्ता गरेर शव बाहिर ल्याउने कोसिसमा छौँ । वार्ताबाट समाधान ननिस्किए हामी बल प्रयोग गरे शव निकाल्छौँ ।’
सुवेदीका अनुसार अहिले स्थिति नियन्त्रणमा आइसकेको छ र उनीहरू कोही पनि बाहिर निस्किएका छैनन् ।
कारागारमा २५३ कैदीबन्दी थिए ।
यी हुन् मृतक र घाइतेहरू:
१. जीत बहादुर घले, बेनीघाट ४ धादिङ (मृतक)
२. इन्द्र बहादुर डालामगर, सुनवल नपा १२ नवलपरासी (मृतक)
३. कोपिल परियार
४. रामशरण परियार
५. डम्बर बहादुर दाहाल
६. नेम बहादुर तामाङ
७. देवराज अधिकारी
८. कृष्ण बहादुर मोक्तान
९. विकास गुरुङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया