धादिङ । कारागार कार्यालय धादिङमा कैदीबन्दीले आगजनी गरेका छन् । कारागारमा आगजनी गरी भाग्न खोज्दा सेनाको गोलीले दुई कैदीबन्दीको मृत्यु भएको छ ।
कारागार कार्यालय धादिङका अनुसार कैदीबन्दीले आफूहरूलाई पनि छाड्नुपर्ने वा रवि लामिछानेलाई पनि जेलमा राख्नुपर्ने भन्दै सुरुमा कारागार प्रशासनसँग माग गरेका थिए । तर कारागार प्रशासनले कैदी बन्दीको माग स्वीकार गर्न नसकिने बताएपछि कैदी बन्दीले आफू बसिरहेको जेलमै आगो लगाउन थालेका थिए । त्यसपछि कारागारमा तैनाथ सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन नसकेपछि नेपाली सेनासहितको संयुक्त फौज कारागारमा पुगेको थियो ।
कैदीबन्दीले कारागारमा आगो लगाएर सुरक्षाकर्मी माथि नै आक्रमण गरी भाग्ने कोसिस गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय धादिङ स्रोतका अनुसार सुरुमा सुरक्षाकर्मीले सुरुमा सम्झाई बुझाई गरी पछि पानीको फोहोरा हानेर स्थिति नियन्त्रणमा लिने कोसिस गरेको थियो । तर कैदी बन्दीले नेपाली सेनामाथि नै ढुङ्गा र घरेलु हतियारले समेत आक्रमण गर्न थालेपछि संयुक्त सुरक्षा फौजले गोली चलाएको थियो ।
प्रहरी स्रोतका अनुसार उनीहरूले ग्यास सिलिन्डरमै आगो लगाएर सुरक्षा फौज भएतिर फालेका थिए ।
सुरक्षा फौजलाई नै आक्रमण गरेर कैदी बन्दी भाग्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाएको हो । सुरक्षाकर्मीको गोली लागेर एक कैदीबन्दीका उपचारको क्रममा जिल्ला अस्पताल धादिङमा मृत्यु भएको छ । अर्का एक कैदीबन्दीको पनि मृत्यु भएको आशंका गरिएको छ ।
प्रहरी स्रोतका अनुसार करिब ८० वर्ष उमेरका जबरजस्ती करणी कसुरका व्यक्तिको समेत गोली लागेर मृत्यु भएको छ । यद्यपि प्रहरीहरू कारागारभित्र जान नसकेको कारण घटनाका सम्बन्धमा थप जानकारी लिन सकिएको छैन ।
सुरक्षाकर्मीको गोली लागेर ८ जना घाइते भएका छन् । ८ मध्ये २ जनाको मृत्यु भएको र ६ जना घाइते रहेको प्रहरीले जनाएको छ । ६ मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
यता कैदीबन्दीसँगको झडपमा ६ जना प्रहरी पनि घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते कैदीबन्दीलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया