काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा असमान्य बनेको धनगढीको जनजीवन पूर्ववत बन्न थालेको छ । शान्ति सुरक्षा कायम राख्न नेपाली सेना परिचालित भएपछि जनजीवन क्रमशः शान्त बन्न थालेको हो ।
धनगढी सहित आसपासका क्षेत्रमा सेनाले गस्ती गर्न बढाएको छ । बजार क्षेत्रमा छिटपुट पसल खुल्न थालेका छन् । सडकमा निजी यातायातका साधन आवतजावत गर्न थालेका छन् ।
प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेका अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएका थिए ।
कैलाली जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । कतिपय कार्यालयमा आज बिहानसम्म आगो पनि निभेको थिएन । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएका थिए । जारी गरिएको निषेधाज्ञा यथावत् छ ।
यस्तै प्रदेशसभा सचिवालय,प्रदेश समन्वय समितिको कार्यालय,उद्योग पर्यटन वन तथा वातावरण,आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालय, मुख्य न्यायधीवक्ता,भन्सार,यातायात,मालपोत र नापी कार्यालय लगायत दर्जनौँ सरकारी कार्यालयमा तोडाफोड गरिएको छ ।
प्रदर्शनका क्रममा सरकारी नम्बर प्लेटका गाडी र मोटरसाइलमा पनि आगो लगाइएको छ । धनगढीस्थित जिल्ला कारागारमा प्रदर्शनकारीबाट आक्रमण गरिएपछि बन्दीगृहका कैदीबन्दी फरार भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया