यी हुन् सर्वोच्चसहित ध्वस्त पारिएका अदालतहरु

लोकपथ
1k
Shares
@Lokpath.com

काठमाडौं । जेन-जी पुस्ताले आव्हान गरेको आन्दोलन र प्रदर्शनमा सर्वोच्च अदालत ध्वस्त बनाइएको छ । सर्वोच्च सहित विशेष अदालत, केही उच्च अदालत र जिल्ला अदालतहरूमा समेत आगजनी भएको छ ।

जेन जी आन्दोलनका क्रममा विक्रम संवत् २००८ सालदेखिका मुद्दाका मिसिल र कागजातहरू जलेर नष्ट भएको सर्वोच्च अदालतले जनाएको छ ।

त्यसै गरी आन्दोलनका क्रममा भ्रष्टाचारको मुद्दा हेर्ने विशेष अदालत काठमाडौं, उच्च अदालत विराटनगर, उच्च अदालत जनकपुरको अस्थायी इजलास राजविराज, उच्च अदालत हेटौंडा लगायतमा समेत तोडफोड र आगजनी भएको छ ।

रविका मुद्दा भएका सबै अदालतमा आगजनी
जेन-जी प्रदर्शनकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा रहेका सबै अदालतहरूमा आगजनी गरेका छन् । पार्टी सभापति लामिछानेलाई केपी ओली नेतृत्वको सरकारले अनाहकमा दुख दिएको भन्दै रविका समर्थकहरूले खोजी खोजी ती जिल्ला अदालतहरूमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीले काठमाडौं जिल्ला अदालतभित्र रहेको मिसिलको सम्पूर्ण फाइल र अदालतको भौतिक संरचनामा आगजनी गरेर ध्वस्त पारिदिएका छन् ।

सिराहा र सप्तरी जिल्ला अदालत पनि आगजनीबाट ध्वस्त भएको छ ।

जिल्ला अदालत रौतहटमा तोडफोड तथा आंशिक आगजनी गरिएको छ ।

मकवानपुर जिल्ला अदालत र सँगै रहेको सर्वोच्च अदालतको डाटा सेन्टर पनि आगजनीबाट ध्वस्त भएको छ ।

त्यसै गरी चितवन जिल्ला अदालत पनि आगजनीबाट ध्वस्त पारिएको छ । त्यहाँका मिसिल, इजलास आदि केही बाँकी नरहेको बुझिएको छ ।

बाँके जिल्ला अदालतमा बुधबार अपराह्नसम्म पनि आगो बलिरहेको छ ।

रुपन्देही जिल्ला अदालतमा पनि तोडफोड, भौतिक संरचना पूरै ध्वस्त र गाडीमा आगजनी गरिएको छ ।

रुपन्देहीमा बुधबार बिहान कैदी बन्दी बाहिर आएर अदालतमा आगजनी गर्नुका साथै अदालतका अधिकांश मिसिल र राय किताब समेत बाहिर ल्याएर जलाएका छन् ।

चितवन जिल्ला अदालत पनि ध्वस्त पारिएको छ र त्यहाँ कुनै तथ्यांक बाँकी रहेको छैन ।

कास्की जिल्ला अदालतमा पनि आगजनी गरी सम्पूर्ण मिसिल नष्ट गरिएको ।

पर्सा जिल्ला अदालतमा पनि आगजनीको प्रयास भएको थियो, यद्यपि त्यहाँ नेपाली सेनाले सुरक्षा दिएर क्षति हुनबाट जोगाएको छ ।

काठमाडौं बाहिर जुन जुन जिल्ला अदालतमा आगजनी भएका छन्, ती सबैजसो अदालतहरूमा रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दा रहेको थियो ।

सर्वोच्चको डाटा सेन्टर ध्वस्त
सर्वोच्च अदालत स्रोतका अनुसार आफ्नो डाटा सेन्टर ध्वस्त भएको छ । सर्वोच्च अदालतको डाटा जिआइडीसीमा नभई सर्वोच्च अदालतकै तेस्रो तलामा रहेको आइटी रुममा राखिएको थियो । तर आन्दोलनकारीले आन्दोलनकारीले डाटा सेन्टरलाई नै निशाना बनाएर आगजनी गरेका छन् । सर्वोच्च अदालतको डाटा ब्याकअपमा रहेको वा नरहेको थप बुझ्न सकिएको छैन । यद्यपि ती डाटाहरू अन्यत्र नरहेको हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?