सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्धको रिटमा सुनुवाइ हुँदै

लोकपथ
196
Shares

काठमाडौं । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध विरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश मनोज शर्माको इजलासमा सुनुवाइ सुरु भएको हो ।

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध गैर कानुनी र अभिव्यक्ति स्वतन्त्रता विरुद्धको कार्य भन्दै १० जना रिट निवेदकले सर्वोच्च अदालतमा रिट दर्ता गर्न निवेदन दिएका थिए ।

तर उक्त निवेदनहरूमाथि सर्वोच्च अदालतको प्रशासनले दरपिठ गर्दै दर्ता नहुने जानकारी दिएपछि उक्त दरपिठविरुद्ध अदालतमा रिट परेको थियो । ती रिटहरूमाथि मंगलबार बिहानैबाट सुनुवाइ भइरहेको छ ।

अधिवक्ता डा. सुनिलरञ्जन सिंह, सकुन भण्डारी, विराज ढुङ्गाना, आयुष बडाल, यतिष ओझा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले रिट लगेका थिए ।

रिट निवेदकहरुले मन्त्रिपरिषद् र सञ्चार मन्त्रालयको परिपत्र तत्काल कार्यान्वयन नगर्न नगराउन माग गर्दै मन्त्रिपरिषद्को निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् ।

यदि सर्वोच्च अदालतले ती रिटमाथि अन्तरिम आदेश जारी गरेका सरकारको निर्णय तत्काल कार्यान्वयनमा जाने छैन ।

अदालतले निर्णय र परिपत्र कार्यान्वयन नगराउन आदेश दिएमा सामाजिक सञ्जालहरू पूर्ववत् अवस्थामै सञ्चालनमा आउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?