काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबारको घटनाको जिम्मा लिएर राजीनामा दिन आग्रह गरेका छ्न ।
सोमबार भएको जेनजी समूहको प्रदर्शनका क्रममा सरकारले अति दमन गरेपछि प्रधानमन्त्रीमाथि चौतर्फी दबाब सिर्जना भइरहेका बेला गगनले ओलीको राजीनामा माग गरेका हुन् ।
पूर्वमन्त्री समेत रहेका थापाले प्रधानमन्त्री ओलीलाई जेनजीमाथि भएको घटनाको सम्पूर्ण जिम्मेवारी लिएर राजीनामा दिन भनेका हुन् ।
‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ,’ गगनले फेसबुकमा भनेका छन् ।
त्यस्तै अब नेपाली कांग्रेस एक दिन पनि वर्तमान सरकारको साक्षी बन्न नसक्ने उनले बताएका छन् । साथै नेपाली कांग्रेस तत्काल सरकारबाट बाहिरिनुपर्ने र बैठकबाट यो निर्णय गराउन आफू लाग्ने बताए ।
‘अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु,’ उनले भनेका छन् ।
सोमबार जेनजी समूहले गरेको विरोध प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । नेपालको इतिहासमा नै कालो दिनका रुपमा दर्ज भएको सेप्टेम्बर घटनाबारे अन्तर्राष्ट्रिय चासो समेत बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया