काठमाडौं । सोमबार काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा १७८ जना प्रहरी घाइते भएका छन् । ठुलो सङ्ख्यामा प्रहरी घाइते भएको भए पनि गम्भीर घाइते भने कोही पनि नरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार हालसम्म १७८ जना प्रहरी घाइते भएको तथ्यांक आएको छ । घाइतेमध्ये अधिकांश प्रहरी सामान्य घाइते छन् भने केही प्रहरीलाई भने गहिरो चोटसमेत लागेको छ ।
यद्यपि कुनै पनि प्रहरी गम्भीर घाइते नरहेको प्रवक्ता खनालले बताए ।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेन–जी पुस्तामाथि प्रहरीले धरपकड गरेपछि प्रदर्शनकारी र प्रहरीबिच झडपसमेत भएको थियो ।
प्रदर्शनकारी उग्र बनेपछि प्रहरीले गोली चलाउँदा यो समाचार तयार पार्दासम्म काठमाडौंमा मात्रै १७ जनाको मृत्यु भइसकेको छ । काठमाडौं बाहिर सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएको छ ।
देशभर भएको प्रदर्शनमा हालसम्म ३४७ जना सर्वसाधारण घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया