सेनाले गोली चलाएको छैन : प्रवक्ता बस्नेत

लोकपथ
25.6k
Shares

काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा नेपाली सेनाले गोली नचलाएको बताएको छ । कर्फ्यु लागेपछि शान्ति सुरक्षा कायम राख्न सेना परिचालन भए पनि गोली नचलाएको नेपाली सेनाले बताएको छ ।

सोमबार साँझ लोकपथसँग कुराकानी गर्दै नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले नेपाली सेनाले गोली नचलाएको बताएका हुन् ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरुद्धमा जेन जी पुस्ताले गरेको प्रदर्शन उग्र भएपछि गोली चल्दा सोमबार साँझ ५ः३० बजेसम्मको अवधिमा १४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसै गरी २४ जना गम्भीर घाइते भएका छन् भने एक सय ७० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीहरू संसद् भवनभित्र समेत प्रवेश गर्न लागेपछि नेपाली सेनाले समेत गोली चलाएको गुनासो आएको थियो । यद्यपि सेनाले भने आफूहरूले कुनै गोली नचलाएको बताएको छ ।

प्रवक्ता बस्नेतले लोकपथसँग भने, ‘हामी स्थानीय प्रशासनले कर्फ्यु लगाएपछि शान्ति सुव्यवस्था कायम गर्न र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई सहयोग गर्न गएका थियौँ । हामी पुग्नुभन्दा पहिले नै त्यहाँ गोली चलिसकेको थियो । सेनाले कसैमाथि पनि गोली चलाएको छैन ।’

प्रदर्शनमा सहभागी केही जेन-जीहरूले भने नेपाली सेनाले समेत गोली चलाएको आरोप लगाएका छन् ।

कर्फ्यु लागिसके पछि पनि प्रदर्शनकारी संसद् भवनभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले थप बल प्रयोग गर्दै गोली चलाएको थियो । प्रहरीको गोली लागेर ५० जनाभन्दा बढी घाइते भएकामा १४ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?