काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्युको क्षेत्र बढाएको छ । यसअघि बानेश्वरमा मात्रै कर्फ्यु लगाएकामा अब राष्ट्रपति निवास शीतलनिवास , उपराष्ट्रपति निवास लैनचौर तथा नारायणहिटी क्षेत्रमा पनि थप गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालबाट जारी आदेशमा बानेश्वर क्षेत्रका साथै अब राष्ट्रपति कार्यालय, शीतलनिवास क्षेत्र, उपराष्ट्रपति कार्यालय, लैनचौर क्षेत्र, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र र सिंहदरबार क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको हो ।
यसअघिको पहिलो कर्फ्यु आदेशमा बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटेल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्मको क्षेत्रमा कर्फ्यु जारी गरिएको थियो ।
सिडिओ कार्यालयले कर्फ्यु आदेशसँगै प्रदर्शन उग्र भएमा गोली हान्नेसम्मको आदेश दिएको छ ।
सिडिओ कार्यालयले जारी गरेको दोस्रो कर्फ्युमा पनि अपराह्न १ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लागू हुने बताएको छ ।
आदेशमा भनिएको छ,
‘मिति २०८२।०५।२३ गते अपराह्न १ बजेदेखि मिति २०८२।०५।२३ गते रातीको १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सिमाना भित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।
देहाय:
क) शीतलनिवास (राष्ट्रपति कार्यालय) महाराजगंज क्षेत्र :
– उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म,
– पूर्व दक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म,
– दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म ।
ख) हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र:
– केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटेलको सिमानासम्म ।
ग) नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र:
– केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म,
– नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म,
घ) सिंहदरबार क्षेत्र:
– भद्रकाली मन्दिर (तीनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म,
– सिंहदरबार मूल गेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मा.वि.को मोडसम्म,
– पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म,
– सिंहदरबार मूल गेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्त्व विभागको चोकसम्म,
यी स्थानहरूमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।
दोस्रो पटक कर्फ्यु आदेश जारी भएसँगै नयाँ बानेश्वर क्षेत्रमा नेपाली सेना पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया