जेन-जी प्रदर्शन : घुँडामुनि गोली हान्ने आदेश दिइयो

लोकपथ
17.4k
Shares

काठमाडौँ । जेन-जी आन्दोलनले उग्र रूप लिएपछि प्रहरीलाई घुँडाभन्दा मुनी गोली हान्न आदेश दिइएको छ । प्रमुख जिल्ला अधिकारी, काठमाडौं प्रहरी प्रमुख लगायतको बैठकले आन्दोलनकारीलाई नियन्त्रणमा लिन गोली हान्नेसम्मको आदेश दिएको हो ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जी पुस्ता संसद् भवन नयाँ बानेश्वरमा प्रवेश गरेपछि काठमाडौंकाे बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भइसकेको छ । आन्दोलनकारीहरू संसद् भवनमा समेत प्रवेश गर्न थालेपछि प्रहरीले अश्रु ग्यासका साथै केही राउन्ड हवाई फायर समेत गरेको छ ।

भिड अझै पनि नियन्त्रणमा नआई आन्दोलनले उग्र रूप लिन थालेपछि प्रहरीलाई गोली हान्नेसम्मको अधिकार दिइसकेको एक उच्च प्रहरी अधिकारीले बताए । उनले भने, ‘अहिले प्रमुख जिल्ला अधिकारी, काठमाडौंका सिडिओ आदि सबै एक ठाउँमा छलफलमा हुनुहुन्छ । प्रदर्शनकारीले संयमता नअपनाए गोली हान्नेसम्मको आदेश भइसकेको छ ।’

ती प्रहरी अधिकारीका अनुसार प्रदर्शनकारीलाई नियन्त्रणमा लिन घुँडाभन्दा मुनीको भागमा गोली हान्नेसम्मको आदेश भइसकेको छ ।

यसअघि नै जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर क्षेत्रमा अपराह्न साँढे १२ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरिसकेको छ ।

काठमाडौंका सिडिओबाट जारी आदेशमा काठमाडौं महानगरपालिकाभित्रको नयाँ बानेश्वर क्षेत्रको चार किल्लामा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।

कर्फ्यु जारी भएका क्षेत्रहरूमा बानेश्वर क्षेत्रको बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटेल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्म कर्फ्यु जारी गरिएको छ ।

संसद् भवनको वरिपरि प्रदर्शनकारीलाई रोक्न चारैतर्फ कर्फ्यु जारी गरिएको हो ।

त्यसभन्दा बाहिर भने हिँडडुल गर्न पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?