काठमाडौं । पछिल्ला डेढ महिनामा नवलपरासी पश्चिममा जापानीज इन्सेफलाइटिस सङ्क्रमणका कारण तीन वृद्ध पुरुषको मृत्यु भएको छ भने नौ जनामा डेंगी रोग पुष्टि भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भेषराज शर्माका अनुसार बर्दघाट नगरपालिका–१२ का ७४ वर्षीय, सरावल गाउँपालिका–१ का ६२ वर्षीय र प्रतापपुर गाउँपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । ती सबैले खोप नलगाएको बताइएको छ ।
यसैबीच, लामखुट्टेको टोकाइका कारण जिल्लामा नौ जनामा डेंगी रोग पुष्टि भएको छ । सरसफाइको कमी र मौसमीय कारणले सङ्क्रमण फैलिने दर तीव्र भएको भन्दै स्वास्थ्यकर्मीले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
डाक्टर नुरुलहोदाका अनुसार डेंगीका लक्षणमा उच्च ज्वरो, टाउको दुखाइ, आँखा पछाडि पीडा, स्नायु–मांसपेशी दुखाइ तथा खाना नखाने समस्या देखिन्छ । समयमा उपचार नपाए मृत्यु समेत हुनसक्ने उनको भनाइ छ ।
जापानीज इन्सेफलाइटिस क्युलेक्स प्रजातिको लामखुट्टेबाट सर्ने गम्भीर रोग हो, जसले मस्तिष्क सुन्निने, पक्षाघात, रिङटा, बेहोस हुनेजस्ता समस्या ल्याउँछ र ज्यानै जाने जोखिम रहन्छ।
स्थानीय तहले लामखुट्टे नियन्त्रण र रोग रोकथामका लागि सरसफाइ अभियान तथा जनचेतनामूलक गतिविधि सुरु गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया