काठमाडौं । सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नयाँ पुस्ताका युवा (जेन जी)हरूले प्रदर्शन थालेका छन् । उनीहरू स्वतःस्फूर्त रूपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शन थालेका हुन् ।
कलेज र स्कुल पोसाकमा समेत देखिएका उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका छन् ।
उनीहरूले विज्ञप्तिमार्फत आफूहरूको आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताएका छन् । विज्ञप्तिमा आफ्नो आन्दोलनको उद्देश्य स्पष्ट पार्दै भ्रष्टहरूलाई जबाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने रहेको उल्लेख गरेको छ । यो कदमबाट भ्रष्टाचारलाई निस्प्रभावी पार्दै न्याय, शान्ति र विकास सम्भव हुने विश्वास उनीहरूले लिएका छन् ।
जेनजीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ । उनीहरूले आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको बताएका छन् ।
आन्दोलनकारीले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएका छन् । उनीहरूले यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको स्पष्ट पारेका छन् ।
उता, जेन जी प्रदर्शनलाई लक्षित गर्दै नेपाल प्रहरीले काठमाडौंका मुख्य क्षेत्रमा आवश्यकताअनुसार सुरक्षा तैनाथी बढाएको छ ।
शान्तिपूर्ण प्रदर्शन भनिएका कारण बल प्रयोग गर्नुपर्ने अवस्था नआउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । प्रदर्शन अराजक हुँदै गयो र निषेधित क्षेत्रतर्फ अगाडि बढ्न थाल्यो भने पूर्वचेतावनीपछि बल प्रयोग हुनसक्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया