काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध अपराह्नसम्म सम्पन्न गर्नुपर्ने उल्लेख छ।
समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ । यसलाई अपर पक्ष वा प्रेत पक्ष नामले पनि चिनिन्छ ।
वैदिक सनातन परम्पराअनुसार चाडपर्व तथा यज्ञयागादि अघि पितृलाई श्रद्धा र भक्तिसहित सम्झने उद्देश्यले यो कर्म गरिन्छ । यसरी श्राद्ध गर्दा पितृप्रतिको दायित्व पुरा हुनुका साथै पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ ।
धर्मशास्त्रविद् प्राडा तोयराज नेपालका अनुसार सोह्र श्राद्ध अपराह्नकालमै गर्नुपर्ने शास्त्रीय वचन छ। जातशौच, मृतशौच वा पत्नी रजस्वला भएका अवस्थामा बाहेक श्राद्ध छोड्नु नहुने उल्लेख छ। कुनै कारणवश श्राद्ध रोकिएमा शास्त्रमा विकल्प व्यवस्था गरिएको छ । आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म वा कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजाका दिन) श्राद्ध गर्न सकिने प्रावधान छ । त्यसमेत सम्भव नभए मङ्सिरसम्मका विशेष तिथिमा वा वृश्चिक सङ्क्रान्तिमा श्राद्ध गर्न सकिने शास्त्रीय उल्लेख छ ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार पितृको तिथिका दिन बिहानै श्राद्ध गर्नुपर्ने भन्ने कतिपय पुरोहितको अभ्यास शास्त्रसम्मत नभएको हो। शास्त्रअनुसार अपराह्नमै श्राद्ध गर्नुपर्ने स्पष्ट पारिएको छ ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुने भएकाले, पितृलाई तृप्त पारेर मात्र ठूलो पर्व मनाउने सनातनी वैदिक परम्परा रही आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया