रास्वपाले भन्यो– ‘जेनजीको आन्दोलनलाई समर्थन छ, सरकारबाट हुने घुसपैठलाई निगरानी गर्छौँ’

लोकपथ
749
Shares

काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सेप्टेम्बर ८ अर्थात् सोमबार नयाँपुस्ताले गर्न लागेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

आज पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै जेनजीको आन्दोलनलाई समर्थन गर्ने बताएका हुन् ।

सरकारको श्रृंखलाबद्ध कुशासन र राज्यशक्तिको दुरूपयोग, स्वतन्त्रता र मौलिक हक हननका विरुद्ध हामी सदनदेखि सडकमा आवाज निरन्तर आफूहरुले आवाज उठाइरहेको बताउँदै युवाहरुको आन्दोलनप्रति ऐक्यबद्धता रहेको महामन्त्री बुर्लाकोटीले बताएका छन् ।

‘भोलि हुन लागेको नेपालको पछिल्लो पुस्ता (जेनजी) को स्वस्फूर्त प्रदर्शनबारे जानकारी पाएर उत्साहित भएका छौँ । सरकारको श्रृंखलाबद्ध कुशासन र राज्यशक्तिको दुरूपयोग, स्वतन्त्रता र मौलिक हक हननका विरुद्ध हामी सदनदेखि सडकमा आवाज निरन्तर उठाइरहेकै छौँ । यो परिप्रेक्षमा जेन जेड समेत सशक्त ढङ्गले सडकमा आउन आँट्नु उल्लेख्य राजनीतिक परिघटना हो । सार्वजनिक मामिलामा सबैको लोकतान्त्रिक संस्कारसंगत प्रत्यक्ष हस्तक्षेप रहोस् भन्ने मान्यता हाम्रो दलको रहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै नवयुवा पुस्ताको अभुतपूर्व प्रदर्शनमा सरकारको प्रतिक्रिया एवं वक्रदृष्टि रहनसक्ने भन्दै आफूहरुले निगरानी गर्ने समेत रास्वपाले जनाएको छ । साथै सरकारलाई जेनजीले उठाएको विषयहरुलाई निष्कर्षमा पुर्याउन अपिल समेत गरेको छ ।

‘नवयुवा पुस्ताको यस अभूतपूर्व प्रदर्शनमा सरकारको प्रतिक्रिया एवं वक्रदृष्टिमाथि हाम्रो निगरानी रहनेछ । जेनजीले उठाएका बिषयहरूलाई निष्कर्षमा पुर्याउन अपिल गर्दै जेनजीको यो प्रयासलाई बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न सरकार र सत्तापक्षीय दलहरूलाई खबरदारी गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले आफ्नो दल रास्वपासँग आवद्ध लगायतका युवाहरुलाई आफ्नो दलीय संकेत, नारा र परिचयलाई प्रयोग नगरी ऐक्यबद्धता जनाउन समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?