काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले न्यायशास्त्रको आदानप्रदानले न्यायको परिधि र क्षेत्र विस्तार हुने बताएका छन् । भारतका प्रधानन्यायाधीश बिआर गवाईलाई नेपालमा स्वागत गर्दै न्यायाधीश रेग्मीले यस्तो बताएका हुन् ।
शुक्रबार काठमाडौंमा ‘नेपाल-भारत न्यायिक संवाद’ कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै न्यायाधीश रेग्मीले यस्तो विचार व्यक्त गरेका हुन् । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवाईको नेतृत्वमा एक उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेको अवसरमा आयोजना गरिएको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश रेग्मीले दुई देशबिचको न्यायिक सहकार्य ऐतिहासिक रहेको र यसलाई सार्थक बनाउनु आवश्यक रहेको बताए ।
न्यायाधीश रेग्मीले भने, ‘यो सभा एक औपचारिक कार्यक्रम भन्दा धेरै बढी हो । यो दुई महान् न्यायिक निकायबिचको संवाद हो, जो संवैधानिक मूल्य मान्यताहरूको संरक्षणको साझा मिसनमा एकजुट छन् । हाम्रा राष्ट्रहरूले सीमा र प्राचीन सभ्यताहरू भन्दा बढी साझा गर्छन्, हामीले लोकतन्त्र, संवैधानिकता र कानुनको शासनप्रतिको प्रतिबद्धता पनि साझा गर्छौँ ।’
गत अप्रिलमा दुई देशका सर्वोच्च अदालतबिच सहकार्यका लागि सम्झौता (एमओयू) हस्ताक्षर भएपछि नेपालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गवाईलाई नेपाल आउन आमन्त्रण गरेका थिए । यसैको परिप्रेक्ष्यमा भारतका प्रधानन्यायाधीश गवाई नेपाल भ्रमणमा आएका हुन् ।

न्यायाधीश रेग्मीले एमओयूले न्यायिक प्रशिक्षण, डिजिटलीकरण, अनुसन्धान र संस्थागत सुधारमा सहकार्यको नयाँ युग सुरु गरेको भन्दै यो एउटा वाचा भएको बताए । उनले भने, ‘हाम्रा न्यायपालिकाहरूले एक अर्काबाट सिक्ने, सहयोग गर्ने र प्रेरित गर्ने छन् ।’
न्यायाधीश रेग्मीले दुई देशबिच भएको संयुक्त कार्यदल गठनलाई यसको प्रमुख आधार बताउँदै यसले सहकार्यात्मक पहलहरू कार्यान्वयन गर्ने, प्रगतिको अनुगमन गर्ने र सहयोगी प्रयासहरूलाई कार्यमा परिणत गर्ने मञ्चको रूपमा काम गर्ने विश्वास व्यक्त गरे ।
न्यायाधीश रेग्मीले भारतका प्रधानन्यायाधीश गवाईको व्यक्तित्व र कार्यको पनि प्रशंसा गरेका छन् । रेग्मीले भने, ‘वकिलबाट भारतको सर्वोच्च न्यायिक पदसम्मको तपाईँको यात्राले न्यायको लागि आफ्नो जीवन समर्पित गर्ने सबैलाई प्रेरणा दिएको छ ।’
रेग्मीले गवाईले दिएका बुल्डोजर मामला, मनिश सिसोदियाको जमानत र विमुद्रीकरण सम्बन्धी ऐतिहासिक फैसलाहरूबारे उल्लेख गर्दै ती निर्णयहरूले गवाईको बुद्धिमत्ता, सहानुभूति र सीमान्तकृतको चिन्तालाई उजागर गरेको बताए ।
न्यायाधीश रेग्मीले नेपाल–भारत न्यायिक संवाद सुरुवात मात्र रहेको भन्दै आगामी दिनमा यसले भविष्यका निर्णयहरू, सुधारहरू र युवा वकिल तथा न्यायाधीशहरूको मनमा गुन्जिरहने गरी काम गर्ने विश्वास व्यक्त गरे ।
संस्कृतको ‘वसुधैव कुटुम्बकम्’ अर्थात् संसार नै एक परिवार हो भन्ने सिद्धान्तलाई उद्धृत गर्दै रेग्मीले नेपाल र भारतले सँगै आफ्ना न्यायपालिकाहरूलाई मजबुत बनाउन सके यसले विश्वव्यापी न्यायिक परिवारलाई समेत सेवा गर्न सक्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपालको तर्फबाट न्यायाधीश सपना प्रधान मल्लले पनि हालको न्याय शास्त्र र आगामी न्यायपालिका सुधारका योजनाहरूका सम्बन्धमा आफ्नो विचार राखेकी थिइन् ।
कार्यक्रममा नेपालका प्रधानन्यायाधीशसहित कानुन मन्त्री, भारतका राजदूत, विभिन्न अदालतका न्यायाधीशहरू, वकिल तथा न्यायिक क्षेत्रका विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया