सी जिनपिङ चिनियाँ सत्तामा थप शक्तिशाली, सेनाको पूर्ण साथ रहने

बेइजिङ, २१ कात्तिक । चिनियाँ राष्ट्रपति सी जिनपिङ सत्तामा थप मजबुत बनेका छन् । राष्ट्रपति सीमाथि चिनियाँ जनमुक्ति सेनाले पूर्ण निष्ठाका साथ सहयोग गर्ने संकल्प गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको गत अक्टोबरमा भएको महाधिवेशनले उनलाई दोस्रो कार्यकालका लागि पार्टी महासचिव र राष्ट्रपतिमा चयन गर्दै थप शक्तिशाली बनाएको थियो ।

उनको विचारलाई चिनियाँ कम्युनिस्ट पार्टीले ‘सी विचारधारा’ को रुपमा ग्रहण गर्दै पार्टीको विधानमा उल्लेख गर्ने निर्णय गरेको थियो । माओ त्से तुङ र देङ सियाओ पिङजत्तिकै उनलाई शक्तिशाली स्थान दिइएको हो ।

राष्ट्रपतिसँगै उनी चिनियाँ जनमुक्ति सेनाको प्रमुखको रुपमा समेत रहेका छन् । चीनको सर्वोच्च सैन्य प्राधिकारले भनेको छ, ‘चीनको सेना पूर्ण रुपमा बफादार तथा भरोसायोग्य रहने छ र केन्द्रीय सैन्य आयोग (सीएमसी) का अध्यक्ष सी चिनपिङको आदेशको पूर्ण रुपमा पालना गर्नेछ ।’

आठ सदस्यीय सीएमसीको २३ लाख सदस्य रहेको चिनियाँ जनमुक्ति सेनाको उच्च कमाण्ड हो । ६३ वर्षीय सी सीएमसीको एकमात्र असैन्य सदस्य हुन् । पाँच वर्षमा एक पटक हुने सीपीसीको महाधिवेशन गत २४ अक्टोबरमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?