नेपालमा बिचौलिया पुँजीवाद हाबी भयो : वर्षमान पुन

लोकपथ
140
Shares

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उप–महासचिव वर्षमान पुनले नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हाबी भएको बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले आइतबार आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पुनले समाजवादी अर्थतन्त्र हाम्रो लक्ष्य भए पनि व्यवहारमा बिचौलिया अर्थतन्त्र मौलाएको टिप्पणी गरे ।

उनका अनुसार खुला प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा एकाधिकार बढेपछि नियामक निकाय जन्मिएको र त्यसैसँग दलाल प्रवृत्ति हाबी भएको छ। पुनले भने, ‘बिचौलियाले नै पार्टी खोलेर देश चलाउने अडान लिन थालेका छन् । उनीहरू सरकार बनाउँछौँ, प्रधानमन्त्री बनेर देश चलाउँछौँ भनिरहेका छन् ।’

उनले उदारवादी अर्थतन्त्रपछि पुँजीवादी अर्थतन्त्र हुँदै बिचौलिया पुँजीवादसम्म पुगेको बताउँदै माओवादी केन्द्रले भने पुँजीवादी समाजवादलाई अघि बढाउनुपर्ने धारणा राखेको स्पष्ट पारे ।

उप–महासचिव पुनले विद्यमान अवस्थालाई ध्यानमा राखी परिवर्तनकारी राजनीतिक शक्तिहरूले आफूलाई परिमार्जन गर्दै अघि बढ्नुको विकल्प नरहेको निष्कर्ष प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?