प्रचण्डको दाबी–‘माओवादीप्रति जनताको आशा र भरोसा कायमै छ’

लोकपथ
161
Shares

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीप्रति जनताको आशा, भरोसा र साथ अझै कायम रहेको दाबी गरेका छन् ।

मध्य पहाडी लोकमार्ग अभियानअन्तर्गत आइतबार लमजुङको सुन्दरबजार नगरपालिका–९, भोँटेओडारमा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले आफू सरकारको नेतृत्वमा रहेका बेला जनताका पक्षमा काम गरेको स्मरण गर्दै भने, ‘पार्टी अहिले सरकारबाहिर रहे पनि जनता केन्द्रित भएर निरन्तर काम गरिरहेको छ, त्यसैले माओवादीप्रति जनताको विश्वास यथावत् छ ।’

 अन्य दलका नेताहरूले माओवादी अल्पमतमा पुगेको भन्ने दाबी असत्य भएको उल्लेख गर्दै, ‘पार्टीले गरेका सकारात्मक कामकै कारण जनताको साथ हामीसँग छ, आगामी निर्वाचनमा माओवादी केन्द्र ठूलो दल बन्छ भन्ने विश्वास छ,‘उनले भने।

अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा बनेका तीन वटै सरकारका उपलब्धिहरू स्मरण गराउँदै मध्य पहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तर–दक्षिण कोरिडोर, किसानका लागि ऋण मिनाहा, संविधान निर्माण, लोडसेडिङ अन्त्य, विद्युत् व्यापार सम्झौता, चीनसँग १४ नाका खोल्ने, जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रियस्तरमा उठाउनेलगायत कार्यलाई ऐतिहासिक उपलब्धि बताएका छन् ।

‘पार्टीले जनताका पक्षमा प्रशस्त काम गरे पनि प्रचारप्रसारमा कमी भएकाले केही काम जनतासम्म पुग्न सकेनन्,‘उनले स्पष्ट पारे ।

दाहालले यस अभियानले जनतालाई तथ्य–सत्य बुझ्न र भविष्यमा सही बाटो रोज्न सहयोग गर्ने विश्वास पनि व्यक्त गरे ।

सभामा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, नन्दकिशोर पुन, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङलगायत नेताहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?