अन्ततः भारतबाट पक्राउ परे लोब्साङसहित तीन आक्रमणकारी

प्रहरीलाई भने, ‘बुवालाई कुटपिट गरेको बदला लिएको हुँ’

काठमाडौं । गत साउन १२ गते बौद्ध नयाँबस्तीमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणमा संलग्न लोब्साङ बोम्जन, सुमन ब्लोन तामाङ र कुमार ब्लोन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

गत साउन १२ गते राति अन्दाजी ९ बजेको समयमा बौद्ध नयाँबस्तीको डी क्याफे अगाडि लोब्साङ, सुमन र कुमारसहितका समूहले ३० वर्षीय जीत बहादुर मोक्तानमाथि गम्भीर आक्रमण गरेका थिए । लोब्साङको समूहले मोक्तानमाथि खुकुरी प्रहार गर्दा मोक्तानको हात, ढाड र पेटमा गम्भीर चोट लागेको थियो ।

आक्रमणपछि गम्भीर घाइते बनेका मोक्तानलाई उपचारका लागि सुरुमा नेपाल मेडिकल कलेज लगिएकामा त्यहाँ उपचार सम्भव नहुने भन्दै त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको थियो ।

शिक्षण अस्पतालमा पनि समयमै उपचार हुन नसक्ने अवस्था देखिएपछि मोक्तानलाई बिएण्डबी अस्पताल लगेर करिब २० दिन उपचार गरिएको थियो । मोक्तानको ढाड र हातमा गम्भीर चोट लागेकामा हाल चोट लागेको हातमा प्यारालाइसिस देखिएको छ । उनको अहिले पनि उपचार भइरहेको र राम्रोसँग बोल्न तथा हिँड्नसमेत नसक्ने भएको मोक्तानको आफन्तले बताएका छन् ।

यता आक्रमण लगत्तै फरार रहेका उनीहरूको बौद्ध प्रहरी, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजी तीव्र पारेको थियो । खोजीकै क्रममा लोब्साङ, सुमन र कुमारलाई कञ्चनपुरको गड्डाचौकी नजिकैबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कञ्चनपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।

कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार उनीहरू भारतबाट नेपाल आएको थाहा पाएपछि कार्यालयको टोली नै कञ्चनपुर पुगेर पक्राउ गरी उनीहरूलाई काठमाडौं ल्याइएको हो ।

जीतमाथि आक्रमण लगत्तै उनीहरू सुरुमा सिन्धुपाल्चोक पुगेको र त्यहाँबाट समेत भागेर भारतको दिल्ली पुगेको पाइएको छ । दिल्लीमै लुकिछिपी बसेको र पछि नेपाल आएको जानकारी पाएपछि लोब्साङलाई पक्राउ गर्न कार्यालयको टोली कञ्चनपुर पुगेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरे नेतृत्वको टोलीले लोब्साङको समूहलाई पक्राउ गरी काठमाडौं ल्याएको हो । सुरुमा दिल्लीमा रहेका लोब्साङको समूहलाई नेपाल आउन बाध्य बनाई पक्राउ गरिएको बुझिएको छ । उनीहरूलाई आइतबार बौद्ध प्रहरीको जिम्मा लगाउने तयारी गरिएको छ ।

बुवामाथिको आक्रमणको बदला !
शुक्रबार राति पक्राउ गरी काठमाडौं ल्याइएका लोब्साङले आक्रमणको कारण बुवामाथिको बदला भएको बताएका छन् । प्रहरीसँगको बयानको क्रममा लोब्साङले मोक्तानसँग आफ्नो कुनै चिनजान र अन्य दुस्मनी नभएको तर बुवालाई आक्रमण गरेको कारण आफूले बदला लिएको बयान दिएका छन् ।

आइतबार म्याद थप गर्नका लागि अदालत लैजाने क्रममा लोकपथसँगको कुराकानीमा पनि लोब्साङले आफ्नो बुवालाई कुटपिट गरेको कारण बदला लिएको बताए । जीत मोक्तानको करिब २० जनाको समूहले आफ्नो बुवामाथि आक्रमण गरी घाइते बनाएको र बुवालाई समेत आइसियुमा राख्नुपरेको कारण आफूहरूले बदला लिएको लोब्साङको दाबी छ ।

प्रहरी स्रोतका अनुसार जीत मोक्तानको समूहले लोब्साङका बुवा अशोक बम्जनको एक केटी साथीलाई जिस्काएको कारण झगडा हुँदा अशोकमाथि कुटपिट भएको थियो । त्यसकै बदलास्वरुप जीतमाथि आक्रमण भएको हुनसक्ने बुझिएको छ ।
लोब्साङको समूहले यसअघि पनि एक जनालाई छुरी प्रहार गरिएको आरोप लागेको छ । सामान्य झगडामा लोब्साङको समूहले ती पीडितलाई के एल टावरअगाडि बोलाएर छुरी हानेको आरोप लागेको छ । लोब्साङ समूहको डरले ती व्यक्तिले कहीँ कतै उजुरी नगरेको र अहिले ती व्यक्तिको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

लोब्साङलाई बौद्ध प्रहरीको जिम्मा लगाएपछि उनीमाथि अनुसन्धान सुरु हुने र घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान हुने प्रहरीले बताएको छ । लोब्साङसहितका समूहका सदस्यमाथि ज्यान मार्ने उद्योग र अंगभंगमा मुद्दा चलाउने तयारी गरिएको छ ।

याे पनि …

बौद्धमा मोटरसाइकलमा सवार युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने लोब्साङ भारतमा पक्राउ, नेपाल ल्याइयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?