काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीय निजामती सेवासम्बन्धी विधेयकलाई संघीय संसद्बाट छिट्टै पारित गराई कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन् ।
निजामती सेवा दिवस २०८२ का अवसरमा मूल समारोह समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले तहगत प्रशासनिक अन्तरसम्बन्धलाई बलियो बनाउँदै प्रशासनिक संघीयतालाई सुदृढ तुल्याउने उद्देश्यसहित विधेयक अघि बढाइएको बताए ।
उपप्रधानमन्त्री सिंहले आमकर्मचारीको माग र भावनालाई समेट्दै राजनीतिक दलहरूको सहमतिबाट विधेयक पारित हुने विश्वास व्यक्त गरे । ‘एकताबद्ध हुँदै विकास, समृद्धि र सुशासनको मार्गमा अगाडि बढ्न निजामती कर्मचारी व्यावसायिक र सिर्जनशील प्रशासनमा लाग्नुपर्छ,‘उनले भने ।
उनका अनुसार शासन व्यवस्थाको मेरुदण्डका रूपमा रहेको निजामती सेवा विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहको प्रमुख दायित्व बोकेको छ । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्रका लाभ नागरिकसम्म पुर्याउन निजामती सेवाको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गरे ।
नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेका सन्दर्भमा निजामती सेवाले समायोजन, अनुकूलन र परिस्कृत हुँदै सेवाग्राहीलाई केन्द्रमा राखेर छरितो, सरल र परिणाममुखी सेवा दिनुपर्नेमा उनले जोड दिए ।
‘समृद्ध नेपालः सुखी नेपाली’ को दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनअनुसार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । संविधानको मर्म आत्मसात गर्दै संघीयताको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउन सरकार अगाडि बढिरहेको पनि उनले बताए ।
उपप्रधानमन्त्री सिंहले आमजनतामा व्याप्त निराशालाई चिर्दै आशाको सञ्चारसहित राष्ट्र निर्माणमा निजामती कर्मचारी अझ क्रियाशील हुने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया