काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामति कर्मचारीलाई इमानदार, पारदर्शी र सुशासनमुखी भएर कार्यसम्पादन गर्न आग्रह गरेकी छन् ।
निजामति कर्मचारी दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले देशको नीति, कार्यक्रम र कानुन कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी निजामति कर्मचारीकै भएको स्मरण गराइन् । उनले समयसापेक्ष, सक्षम र पारदर्शी भएर आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘कर्मचारी संयन्त्रलाई सुशासनमुखी बनाऔँ । सम्पूर्ण कर्मचारीहरू इमानदार बन्नुपर्छ, पारदर्शिता कायम गर्नुपर्छ र अब्बल रूपमा कार्यसम्पादन गरेर आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। यही अहिले समयको माग हो ।’
मन्त्री न्यौपानेले युवाहरू रोजगारीको खोजीमा विदेश पलायन हुने क्रम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै निजामति सेवामार्फत देशमा योगदान गर्ने वातावरण बनाउनुपर्ने धारणा राखिन् । उनले कर्मचारी प्रशासनले नागरिकमा विश्वास जगाएर जिम्मेवारीपूर्वक काम गरे सुशासनको प्रत्याभूति दिलाउन सकिने बताइन् ।
उनका अनुसार देशको बजेट, नीति, कानुन तथा कार्यक्रम कार्यान्वयन गर्ने जिम्मा निजामति सेवाकै भएकाले कर्मचारीले आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्न सके मुलुकले छिट्टै प्रगति गर्न सक्नेछ । ‘हामी सबै जुनसुकै निकायमा भए पनि देश नै ठुलो हो भन्ने भावना राखेर काम गर्न सके यो मुलुक बन्नेछ,मन्त्री न्यौपानेले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया