काठमाडौं । गत साउन १२ गते राति बौद्धको बाहुनधारामा मोटरसाइकलमा सवार एक युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले लोब्साङ लामालाई पक्राउ गरेको छ ।
काभ्रेका जीतबहादुर मोक्तानलाई आक्रमण गर्ने समूहका मुख्य सदस्य लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले भारतको नयाँदिल्लीबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याइसकिएको छ भने काठमाडौं जिल्ला प्रहरी परिसरलाई बुझाउने तयारी भइरहेको छ ।
पक्राउ परेका लामाको स्थायी ठेगाना सिन्धुपाल्चोक भए पनि उनको बौद्ध नजिकैको नारायनटार, बेसिगाऊँ र भद्रबासमा समेत एउटा घर थियो । लामा बौद्ध क्षेत्रमा कुटपिट, आक्रमण र गुन्डागर्दीको परिचित नाम हो ।
उनीसहितको समूहले साउन १२ गते राति अन्दाजी ९ बजेको समयमा नयाँ बस्तीको डी क्याफेमा खाजा खाएर बाहिर निस्कँदै गर्दा मोटरसाइकलमा रहेका जीतबहादुरमाथि आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । ती युवकमाथि हात, ढाड र पेटमा खुकुरी प्रहार गरिएको थियो ।
लोब्साङ आफूलाई झिँगे भन्ने सञ्जय लामा र अर्का गुन्डा नाइके श्याम लामाको मान्छे हुँ भन्दै गुण्डागर्दी गर्ने गर्दथे । उनै लोब्साङले रेकी गरेर नै जीतबहादुरमाथि त्यस दिन आक्रमण गरेका थिए । जीतलाई आक्रमण गर्न जाँदा ४ जनाको समूह गएको पाइएको थियो ।
बौद्धमै कोठा भाडामा लिएर बस्ने जीतबहादुर काभ्रेको रोशी गाउँपालिका १० का स्थायी बासिन्दा हुन् । खुकुरी प्रहारपछि उनी सडकमै अचेत भएर ढलेका थिए ।
लोकपथलाई प्राप्त सिसिटिभी फुटेजमा मोटरसाइकलमा सवार जीतमाथि युवाहरूको समूहले आक्रमण गरेको र उनी मोटरसाइकलबाट ओर्लिएर भाग्दै गरेको देख्न सकिन्छ । तर भाग्दै गर्दासमेत उनीमाथि पुनः खुकुरी प्रहार भएपछि जीत सडकमै ढलेर अचेत बनेको पाइएको छ । त्यसपछि जीतको मृत्यु हुन्छ भन्ने ठानेर आक्रमणकारीको समूह भागेको थियो ।
सडकमा अचेत अवस्थामा भेटिएका जीतलाई स्थानीयले उद्धार गरी सुरुमा नेपाल मेडिकल कलेजमा पुराएका थिए । तर त्यहाँ उनको उपचार सम्भव नहुने भएपछि रिफर गरेर त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो । तर त्यहाँ पनि उपचार सम्भव नहुने भन्दै उनलाई बिएण्डबी अस्पतालमा थप उपचारका लागि पठाइयो ।
लोकपथलाई प्राप्त घाउको फोटो हेर्दा जीतको हात र ढाडमा गम्भीर प्रकृतिको आक्रमण भएको देखिन्छ । हात र ढाडमा गहिरो चोट लागेको छ भने हातको केही नसा र ढाडको हाडसमेत काटिएको पाइएको छ ।
गम्भीर आक्रमणमा परेका जीतबहादुरको त्रिवि शिक्षण अस्पताल र बिएण्डबी अस्पतालमा २० दिन उपचार भयो । उपचारपछि उनलाई डिस्चार्ज त गरियो तर प्यारालाइसिस भएर । जीतका परिवारका एक सदस्यका अनुसार यति बेला जीतको एक हात चल्दैन । उनी राम्ररी बोल्नसमेत सक्दैनन् । जीतको उपचारमा परिवारले २० लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ, तर पनि उनी पहिलेजस्तै हिँडडुल गर्न सक्दैनन् । एउटा हात नै नचल्ने भएपछि उनको अधिकांश समय अहिले ओछ्यानमा नै बित्ने गरेको जीतका एक आफन्तले बताए ।
लोब्साङले पहिले पनि गरेका थिए छुरी प्रहार
बौद्ध क्षेत्रको गुन्डागर्दीमा संलग्न लोब्साङले यसअघि पनि एक युवकमाथि छुरी प्रहार गरेको पीडित जीतका एक आफन्तले बताए । माकलबारी क्षेत्रमा एक युवकसँग सामान्य विवाद भएपछि लोब्साङ आफैँले चाबहिलको के एल टावर अगाडि बोलाएर ती युवकमाथि पेटमा छुरी प्रहार गरेका थिए ।
छुरी प्रहारबाट गम्भीर घाइते भएका ती युवक अहिले उपचारपछि निको भए पनि लोब्साङविरुद्ध जाहेरी नदिई बसेका छन् । कतै जाहेरी दिएमा मारिदिने भनी लोब्साङले धम्की दिएकाले उनले कतै जाहेरी दिन नसकेको पीडित जीतका आफन्तले बताए । लोब्साङको समूहले एक युवकमाथि छुरी हानेको भिडियोसमेत लोकपथसँग सुरक्षित छ ।
लोब्साङले माकलबारीको एक स्नुकर हाउसमा समेत एक व्यक्तिलाई आक्रमण गरेको जीतबहादुरका आफन्तले बताए । स्नुकर हाउसमा एक व्यक्तिलाई लगातार हेलमेटले हानेपछि उनी ढलेको र पछि उपचार गरिएको थियो ।
सिन्धुपाल्चोकका लोब्साङ खास काम वा व्यवसाय केही पनि छैन । उनी गुण्डागर्दीमै संलग्न रहने गरेका छन् । लोब्साङका बुवा अशोक बम्जन बालुवा र गिट्टीको काम गर्छन् । बुवाको बालुवा र गिट्टीको काममा लोब्साङले गुण्डाको रूपमा सहयोगीको काम गर्ने गरेको पीडितका आफन्तले बताए । त्यसबाहेक लोब्साङले झिँगे भन्ने सूर्य लामा र श्याम लामाको आडमा गुण्डागर्दी गर्ने गरेको र बौद्ध क्षेत्रबाट असुली समेत गर्ने गरेको पाइएको छ । लोब्साङले कतिपय व्यक्तिलाई लुटपाट समेत गरेको पीडित जीतका आफन्तले आरोप लगाएका छन् ।
लोब्साङ र जीत बहादुर मोक्तानको विवादको मुख्य कुरा के थियो भन्ने अझै खुलेको छैन । जीतका आफन्तले लुटपाटका उद्देश्यबाट मात्रै जीतमाथि आक्रमण भएको र आक्रमणपछि जीतको घाँटीमा रहेको तीन तोलाको सिक्री, हातको औँठी र गोजीमा भएको ४५ हजार रुपैयाँ समेत लुटिएको आरोप लगाएका छन् ।
तर प्रहरी भने जीतका आफन्तको यो दाबीमा सहमत छैन । जिल्ला प्रहरी परिसरका एक प्रहरी अधिकारीका अनुसार उक्त घटना लुटपाटको उद्देश्यबाट भएकै होइन । उक्त घटना बदला वा अन्य कारणबाट भएको प्रहरीको निष्कर्ष छ ।
जुन दिन जीतमाथि आक्रमण भयो, सोही दिन दिउँसो जीतको समूह र लोब्साङका बुवा अशोक बमजनबिच भनाभन हुँदा जीतको समूहले अशोक बम्जनमाथि सामान्य आक्रमण गरेको थियो । आक्रमणपछि अशोक बम्जनले जीतविरुद्ध बौद्ध प्रहरीमा उजुरीसमेत गरेका थिए ।
तर प्रहरीले छलफलमा बोलाउन नपाउँदै त्यसको २ घण्टापछि अशोक बम्जनकै छोरा लोब्साङ लामाको समूहले जीतमाथि गम्भीर आक्रमण गरेको थियो ।
यो पनि…
बौद्धमा खुकुरी हान्ने ‘गुन्डा’को खोजी नै भएन, पीडित थप त्रासमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया