काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण आज लाग्ने जनाएको छ ।
ग्रहणले राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख छ । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ः४१ बजे ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने उनले बताए ।
२०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।
ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको पनि उनले सुनाए ।
शास्त्रीय मान्यताअनुसार, आइतबार दिउँसो १ः११ बजेपछि बाल, वृद्ध र आतुरबाहेकले भोजन गर्नु हुँदैन । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।
‘रक्तचन्द्र’ (ब्लड मुन) के हो ? यो किन हुन्छ ?
‘रक्तचन्द्र’ पूर्ण चन्द्रग्रहणलाई दिइएको एक उपनाम हो । जुन चन्द्रमा पृथ्वीको छायामा पूर्णरूपमा प्रवेश गर्दा उत्पन्न हुन्छ । यस समयमा चन्द्रमा अँध्यारोमा हराउनुको सट्टा गहिरो रातो वा ताम्र रंगमा परिणत हुन्छ ।
जब सूर्यको किरण पृथ्वीको वायुमण्डल हुँदै जान्छ । यो छानिन्छ र छरिन्छ । धेरै निलो प्रकाश छरिन्छ । जबकि, रातो प्रकाश पृथ्वीको वायुमण्डलको छेउबाट बांगिँदै चन्द्रमामा पुग्छ । जसले चन्द्रमालाई रहस्यमयी रातो चमक प्रदान गर्छ ।
यो प्रभाव सूर्यास्तको समयमा आकाश रातो देखिनुको कारणसँग मिल्दोजुल्दो छ । त्यसैले, यसको नाम ‘रक्तचन्द्र’ले जेसुकै संकेत गरे पनि रगतसँग कुनै सम्बन्ध छैन । यो त केवल हाम्रो ग्रहको वायुमण्डलले चन्द्रमालाई रातो रंगमा रंगााउने प्रकृतिको सबैभन्दा सुन्दर र आकर्षक कला हो ।
कहिले र कहाँ हेर्ने ?
बीबीसी स्काई एट नाइट म्यागजिनका अनुसार, यो पूर्ण खगोलीय घटना भारत, चीन, रुस, पश्चिमी अस्ट्रेलिया, पूर्वी अफ्रिका र मध्य एसियाबाट स्पष्टरूपमा देखिनेछ ।
आज लाग्ने पूर्ण चन्द्रग्रहण हालैका वर्षहरूमा देखिएका सबैभन्दा लामो पूर्ण चन्द्रग्रहणहरूमध्ये एक हो । साथै, यो चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दु (पेरिजी)मा पुग्नुभन्दा ठिक अघि हुने भएकाले आकाशमा सामान्यभन्दा अलिकति ठूलो पनि देखिनेछ ।
‘मकै चन्द्र ग्रहण’ !
कतिपयले आगामी पूर्ण चन्द्रग्रहणलाई ‘मकै चन्द्र ग्रहण’ पनि भनिरहेका छन् । तर, यसको अर्थ थाहा पाउनु जरुरी छ । वर्षको प्रत्येक पूर्णिमालाई मौसम परिवर्तन वा त्यस समयमा हुने घटनाहरूमा आधारित परम्परागत उपनाम दिइने गरिन्छ ।
जस्तै, फेब्रुअरीको पूर्णिमालाई ‘हिउँ चन्द्र’ भनिन्छ । यो किनभने त्यो समय सामान्यतः हिउँ पर्ने समय हो । त्यसैगरी, जुनको पूर्णिमालाई ‘स्ट्रबेरी चन्द्र’ भनिन्छ । किनभने, उक्त समयमा स्ट्रबेरी टिप्ने गरिन्छ ।
सेप्टेम्बरको पूर्णिमालाई ‘मकै चन्द्र’ भनिन्छ । यो किनभने यो समय मकै भित्र्याउने समय हो । त्यसैले, यो रक्तचन्द्रलाई ‘मकै चन्द्र’ नाम दिइनु २०२५ का लागि मात्र विशेष होइन । यो हरेक सेप्टेम्बरमा आउने पूर्णिमाको नाम हो ।
यस पटकको ‘मकै चन्द्र’ विशेष छ । किनभने यो पूर्ण चन्द्रग्रहणमा पनि परिणत हुँदै छ । जसले यसलाई ‘मकै चन्द्र ग्रहण’ बनाएको छ ।
यो सेप्टेम्बरमा, ‘मकै चन्द्र ग्रहण’ले परम्परा र विज्ञानलाई एकैसाथ एक आश्चर्यजनक अनुभव प्रस्तुत गर्नेछ । रातको आकाशमा चन्द्रमा रातो रंगमा चम्किरहेको दृश्य अवलोकन गर्नु आकाश अवलोकनकर्ताका लागि यो केवल एक पूर्णिमाको अवलोकनमात्र होइन, प्रकृतिको सबैभन्दा आकर्षक प्रदर्शनहरूमध्ये एक हेर्ने अवसर पनि हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया