फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल : तीन महिनादेखि उडान भएन

लोकपथ
35
Shares

 इलाम । पूर्वी नेपालको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल तीन महिनादेखि सुनसान बनेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा जम्मा ३३ उडान मात्रै भएको यस विमानस्थलमा जेठयता कुनै पनि उडान हुन सकेको छैन ।

इलाम नगरपालिका–९ मा अवस्थित विमानस्थलमा सुरुआतमा तारा एयरले सातामा दुई पटक उडान भरेको थियो । पछि नेपाल एयरलाइन्सले पनि नियमित उडान सुरु गरे पनि नगरपालिकासँगको सम्झौता सकिएपछि स्थायित्व कायम गर्न सकेन । नेपाल एयरलाइन्सले पछिल्लो समय शनिबार मात्र उडान भर्दै आएको थियो, तर २०८२ जेठ १४ गतेपछि मौसमका कारण जहाज नउडेपछि विमानस्थल बन्दप्रायः बनेको स्टेशन इन्चार्ज दिनेश सुन्दासले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले पहिलेका वर्ष नगरपालिकाले एयरलाइन्ससँग सम्झौता गरेर केही खर्च व्यहोरेर उडान सुनिश्चित गर्ने गरेको बताए । तर अहिले नगरपालिकाले कुनै दायित्व नलिएको कारण उडान नियमित नभएको उनको भनाइ छ ।

विमानस्थल नियमित सञ्चालनका लागि स्थानीय स्तरमा पटकपटक पहल भए पनि दीर्घकालीन समाधान नआएको वडाध्यक्ष गोपाल चौहानले बताए । ‘कहिले विमान बिग्रिएको, कहिले मौसमको कारण देखाउँदै समस्या आइरहेको छ,’ उनले भने, ‘तर अब दीर्घकालीन समाधान आवश्यक छ ।’

३२८ रोपनी क्षेत्रफलमा बनेको यो विमानस्थलको धावनमार्ग ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको छ । तर स्थायी टर्मिनल भवन, पक्की पहुँच मार्ग, सुरक्षित तारबारलगायत संरचना अझै अधुरा छन् । स्थानीयले प्रतिव्यक्ति एकदेखि ४२ रोपनीसम्म जग्गा उपलब्ध गराएका यस विमानस्थलमा हालसम्म २८ करोड बढी खर्च भइसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले विसं २०६७ चैत १३ गते शिलान्यास गरेको विमानस्थलको २०७८ साल फागुन १ गते उद्घाटनसमेत खनालले नै गरेका थिए । तर उद्घाटन भएको पाँच वर्षमै विमानस्थल सुनसान बन्दै जानु प्रदेशकै पर्यटन र यातायात पूर्वाधार विकासका लागि चुनौती बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?