रामहरि खतिवडा संसदीय समितिको सभापति बनेपछि रास्वपा– ‘संसदकै नैतिक आचरणप्रति प्रश्न’

लोकपथ
2.3k
Shares

काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेस सांसद रामहरि खतिवडा संसदीय सुनुवाई समितिको सभापतिमा निर्वाचित भएकोप्रतिआपत्ति जनाएको छ ।

खतिवडा यसअघि प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रहेका थिए । तर संघीय निजामति सेवा विधेयकको कुलिङ अफ पिरियडमा बदमासी भएपछि राजीनामा दिएका थिए । एउटा समितिको सभापतिमा प्रश्न उठेपछि राजीनामा दिएको पात्र पुनः अर्को महत्वपूर्ण समितिमा जिम्मेवारी दिइएकोप्रति रास्वपाले आपत्ति जनाएको हो ।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले त्यसबारे आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेर सत्तापक्षको यस्तो निर्णयले संसदकै नैतिक आचरणप्रति प्रश्नचिह्न खडा भएको बताए ।

माननीय रामहरि खतिवडा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदमा कार्यरतरहँदा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी गडबडीबारे संसदीय छानबिन प्रतिवेदनले दोषी देखाएका र कारबाहीका लागि सिफारिस भएपश्तात निजले सो पदबाट राजीनामा दिएका थिए । जनताको सार्वभौम कानुन निर्माण जस्तो संवेदनशील विषयमा गैरकानुनी रुपमा प्रत्यक्ष रुपमा संलग्न भइ नैतिक संकटमा परी राजीनामा दिनुपरेको व्यक्तिलाई अहिले पुनः संसदीय सुनुवाइ समितिको सभापति जस्तो अझ महत्वपूर्ण पदमा नियुक्त गर्ने प्रक्रियाले संसदकै नैतिक आचरणप्रतिप्रश्न खडा गरेको छ,’ रास्वपाले विज्ञप्ति जारी गर्दै भनेको छ ।

संसदको जिम्मेवारी सदन र समितिहरुलाई जनताको विश्वास गर्ने संस्थाको रुपमा स्थापित गर्नु भए पनि विवादास्पद पृष्ठभूमी भएका व्यक्तिलाई पुनः उच्च ओहदाको जिम्मेवारी दिने कामले संसदको गरिमा मात्र नभएर सम्पूर्ण लोकतान्त्रिक मूल्य मान्यतामा आघात पुर्याएको जनाएको छ ।

‘नैतिकता र पारदर्शिता लोकतान्त्रिक प्रणालीका मूल आधार हुन् । संस्दको जिम्मेवारी भनेकै सदन र समितिहरुलाई जनताले विश्वास गर्ने संस्थाको रुपमा स्थापित गर्नु हो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘तर विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पुनः उच्च ओहदाको जिम्मेवारी दिने कार्यले संसदको गरिमा मात्र नभई सम्पूर्ण लोकतान्त्रिक मूल्य र मान्यतामा आघात पुर्याएको अवस्था छ ।’

संसदीय समितिको सभापतिको आज बसेको बैठकमा खतिवडा निर्विरोध निर्वाचित भएको जानकारी गराइएको थियो ।

यो पनि…
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले दिए राजीनामा

संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?