नयाँ संविधानसँगै न्यायको धारणामा पनि रुपान्तरण आएको छ : न्यायाधीश सपना प्रधान मल्ल

लोकपथ
168
Shares

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले नेपालमा नयाँ संविधानसँगै न्यायको धारणाले रुपान्तरण पाएको बताएकी छन् ।

नयाँ संविधानपछि पीडित केन्दित न्याय, क्षतिपूर्ती, समावेशी न्याय, न्यायलाई जनमुखी र उपचारात्मक बनाउन कोषेढुंगा सावित भएको बताइन् ।

छिमेकी देश भारतका प्रधानन्यायाधीश भुषण रामकृष्ण गवाई (बीआर गवाई) सम्मिलित ‘नेपाल–भारत जुडिसियल डायलग’ लाई सम्बोधन गर्दै न्यायाधीश मल्लले सो कुरा बताएका हुन् ।

‘नयाँ संविधानसँगै न्यायको धारणाले रूपान्तरण पाएको छ । जसले प्रतिशोधात्मक न्यायबाट पुनस्र्थापनात्मक न्यायतर्फ,पीडित केन्द्रित न्याय, क्षतिपूर्ति, समावेशी न्याय, न्यायलाई जनमुखी र उपचारात्मक बनाउन भूमिका खेलेको छ,’ उनले भनिन् ।

सो अवसरमा न्यायाधीश मल्लले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको प्रशंसा समेत गरिन् । राउत न्यायालयको नेतृत्वमा आएसँगै दशकौँसम्म लामो मुद्दा टुंगोमा पुर्‍याउने काममा सफलता पाएको बताइन् । साथै उनले आफूहरुले समयमै गुणस्तरीय र छिटो न्यायलाई प्राथमिकतामा राखेको सुनाइन् ।

‘हामीले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा दशकौँ लामो मुद्दा टुंगो लगाउने काममा सफलता पाएका छौँ । त्यसमा पनि हाम्रो प्राथमिकता छ– समयमै न्याय, गुणस्तरीय र छिटो न्याय । त्यो पनि प्रविधिको प्रयोगमार्फत्,’ उनले भनेकी छन् ।

सो अवसरमा बोल्दै न्यायाधीश मल्लले भारतीय प्रधानन्यायाधीश गवाईको निर्वाचन बण्डस्सम्बन्धी फैसला ऐतिहासिक रहेको भन्दै तारिफ गरिन् ।

‘मित्रराष्ट्र भारतका प्रधानन्यायाधीश गवईज्यू, तपाईंको निर्वाचन बण्ड्स सम्बन्धी फैसला ऐतिहासिक छ । तपाईंले संसारलाई लोकतन्त्र अध्यारोमा बाँच्नसक्दैन् भन्ने देखाउनुभयो । नेताहरूलाई कसले धन दिएको छ, जनताले जान्ने अधिकार छ भन्ने कुरा तपाईँले देखाइदिनुभयो । साथै न्यायालयको पारदर्शिता वैकल्पिक नभइ लोकतान्त्रिक न्यायको रक्तसञ्चार हो भन्ने खुलस्त पारिदिनुभयो,’ उनले भनेकी छन् ।

यी र यस्तै फैसलाले भारतीय न्यायालयले केवल कानुनको व्याख्या मात्र नगरेको बताउँदै त्यसले दलाल पुँजीवाद (क्रोनि क्यापिटालिजम) बाट जोगाएको दाबी गरिन् । साथै भारतीय न्यायालयमा प्रधानन्यायाधीश गवाईले बाटो देखाएको र त्यसैलाई सबैले पच्छ्याउने उनको धारणा रहेको छ ।

दुवै देशका प्रधानन्यायाधीशहरुको अघि न्यायाधीश मल्लले नेपाल भारतका न्यायालयले गरेका काम र त्यसले आम नागरिकमा न्यायका लागि जगाएको आशाबारे प्रशंसा गरिन् ।

‘नेपालका प्रधानन्यायाधीश राउतज्यू र भारतका प्रधानन्यायाधीश गवाईज्यू । हाम्रो न्यायपालिका दृढ छ । निर्भिक पनि छ,’ उनले भनिन्, ‘नेपाल र भारतलाई सँगसँगै हेर्दा म सामाजिक न्याय, मानवीय गरिमा र स्थापित शक्तिलाई सामना गर्ने साहसको रुपमा एउटै धागोले बुनेको कपडा देख्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?