काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीयताको कार्यान्वयनमा देखिएका चुनौती समाधान गर्दै स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्ने बताएकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘गाउँ गाउँमा सिंहदरबार’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन भए मात्रै स्थानीय तह जनतामाझ सेवा प्रवाहमा सक्षम बन्न सक्ने स्पष्ट पारिन् ।
उनले संविधान जारी भएपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीलगायतका क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गर्दै, स्थानीय तहले सडक विस्तारदेखि खानेपानी समाधानसम्मका काम प्रभावकारी रूपमा गर्दै आएको बताइन् ।
‘संविधानले स्थानीय तहलाई धेरै प्रकारका अधिकार दिएको छ । सोहीअनुरूप स्थानीय तहले भौतिक निर्माणदेखि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा राम्रो प्रगति गरेको छ, ‘मन्त्री न्यौपानेले भनिन्, ‘तर संघीयता कार्यान्वयनको यो दोस्रो चरणमा सबै समस्या तत्काल समाधान हुने स्थिति छैन, क्रमशः समाधान गर्दै जानुपर्छ।’
उनले संघ र प्रदेशले अधिकार हस्तान्तरण गरेर स्थानीय सरकारलाई अझै सबल बनाउनुपर्नेमा जोड दिँदै, संविधानको सफल कार्यान्वयन सबै तहका सरकारले आफ्नो अधिकार, जिम्मेवारी र कर्तव्य निर्वाह गर्नेसँगै मात्र सम्भव हुने धारणा राखिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया