काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी भएको आरोप लगाएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारको कदम अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन भएको दाबी गरे ।
प्रचण्डका अनुसार सरकारले सामाजिक सञ्जालमार्फत भइरहेको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ ।
उनले भनेका छन्, ‘यस निर्णयले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, देशको अर्थतन्त्रलाई टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवार बिचको सम्पर्कलाई समेत जटिल र असहज बनाएको छ । हाम्रो पार्टी सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमनको पक्षमा अडिग छ ।’
प्रचण्डले सामाजिक सञ्जाल प्रकाशन र प्रसारणसम्बन्धी कानुनी व्यवस्था बनाउन सर्वोच्च अदालतले दिएको आदेशको पनि सरकारले अपव्याख्या गरेको आरोप लगाए ।
संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागितासहित अघि बढाउनुपर्नेमा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक भएको उनको भनाइ छ ।
‘म संविधान प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, यस निर्णय तत्काल खारेज गर्न जोडदार माग गर्दछु,’प्रचण्डले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया