घरजग्गा कारोबारमा भारी गिरावट : व्यवसायी भन्छन्– ‘सरकारकै कारण ठप्प हुँदैछ’

लोकपथ
994
Shares

 काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबारमा उल्लेखनीय गिरावट आएको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका तथ्यांकअनुसार, साउन २०८२ मा नेपालभर मात्र ३१ हजार ६ सय २१ वटा घरजग्गा कारोबार भएका छन्, जुन गत आर्थिक वर्षको सोही महिनाको तुलनामा २८ प्रतिशतले र गत असारको तुलनामा ४३ प्रतिशतले कम हो ।

काठमाडौं उपत्यकामा पनि कारोबार घटेको देखिन्छ । ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ६ सय १६ र गोटीखेलबाट मात्र ६ वटा घरजग्गा कारोबार भएका छन् । 

भक्तपुरमा ८ सय २०, काठमाडौंमा डिल्लीबजार १६३, चाबहिल ३६२, कलंकी ४६६, मनमैजु २४, साँखु २६३ र टोखा १११ वटा कारोबार भएका छन् ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेका अनुसार, ‘घरजग्गा कारोबारमा लचिलो मौद्रिक नीति आए पनि कित्ताकाट रोकिएपछि ठप्प भएको छ । सरकारले वर्गीकरणको समयसीमा नखुलाएपछि कारोबार प्रभावित भएको हो ।’

घिमिरेले आर्थिक शिथिलतासँगै स्थानीय तहले जग्गा वर्गीकरण नगर्नु पनि कारोबारमा अवरोध भएको बताए । उनले भने, ‘कित्ताकाट अब पनि नखुलाए, अवस्था अझै भयावह हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?