गुल्मीमा अब सातामा एक पटक मात्र हवाई उडान हुने

लोकपथ
126
Shares

गुल्मी । नेपाल वायु सेवा निगमले गुल्मीमा हवाई उडान तालिका परिवर्तन गरेको छ । 

निगमले यसअघि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी सातामा चार पटक उडान गर्दै आएकामा अब केही समयका लागि सातामा एक पटक मात्र उडान हुने जनाएको छ । 

रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले विगतमा चार पटक उडान हुँदै आएकामा अब केही समयका लागि बिहीबार एक दिन मात्र उडान गरिने जानकारी दिए । निगमका दुई वटा ट्वीनअटर जहाज ‘ग्राउण्डेड’ भएको र हाल एउटा जहाज मात्र सञ्चालनमा रहेकाले नियमित तालिकामा परिवर्तन गर्नुपरेको उनले बताए ।

प्रतिकूल मौसमका कारण यहाँ करिब डेढ महिनासम्म उडान नियमित हुन सकेको थिएन । खराब मौसम र बाक्लो हुस्सुका कारण जिल्लामा पटकपटक उडान प्रभावित हुने गरेको छ ।

निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाडौंदेखि यहाँ बिहान ६ः३० बजे र यहाँबाट काठमाडौं बिहान ७ः३० बजे उडानको तालिका निर्धारण गरेको छ ।

यस्तै, काठमाडौंबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीदेखि काठमाडौंका लागि सात हजार ३०० भाडादर निर्धारण गरेको छ ।  निगमले विसं २०८० वैशाख २९ गतेदेखि यहाँ व्यावसायिक रूपमा उडान सुरु गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?