बौद्धमा खुकुरी हान्ने ‘गुन्डा’को खोजी नै भएन, पीडित थप त्रासमा

गम्भीर घाइते युवकमा प्यारालाइसिस, हात नै चलेन

लोकपथ
3.9k
Shares

काठमाडौं । गत साउन १२ गते राति बौद्धको बाहुनधारामा मोटरसाइकलमा सवार एक युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार भयो । राति अन्दाजी ९ बजेको समयमा नयाँ बस्तीको डी क्याफेमा खाजा खाएर बाहिर निस्कँदै गर्दा मोटरसाइकलमा रहेका युवामाथि कम्तीमा चार जनाको समूहमा रहेका युवाहरूको समूहले आक्रमण गरी गम्भीर घाइते बनायो । ती युवकमाथि हात, ढाड र पेटमा खुकुरी प्रहार भयो ।

ती युवक थिए, बौद्धमै कोठा भाडामा लिएर बस्ने जीत बहादुर मोक्तान, जो काभ्रेको रोशी गाउँपालिका १० का स्थायी बासिन्दा हुन् ।

मोटरसाइकलमा सवार रहेकै समयमा खुकुरी प्रहार हुँदा जीत बहादुर मोक्तान गम्भीर घाइते भए । उनी सडकमै अचेत भएर ढले ।

लोब्साङ लामाले खुकुरी प्रहार गर्दैगर्दाको भिडियोको स्कृनसट ।

लोकपथलाई प्राप्त सिसिटिभी फुटेजमा मोटरसाइकलमा सवार जीतमाथि युवाहरूको समूहले आक्रमण गरेको र उनी मोटरसाइकलबाट ओर्लिएर भाग्दै गरेको देख्न सकिन्छ । तर भाग्दै गर्दासमेत उनीमाथि पुनः खुकुरी प्रहार भएपछि जीत सडकमै ढलेर अचेत बनेको पाइएको छ । त्यसपछि जीतको मृत्यु हुन्छ भन्ने ठानेर आक्रमणकारीको समूह भागेको थियो ।

सडकमा अचेत अवस्थामा भेटिएका जीतलाई स्थानीयले उद्धार गरी सुरुमा नेपाल मेडिकल कलेजमा पुराएका थिए । तर त्यहाँ उनको उपचार सम्भव नहुने भएपछि रिफर गरेर त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो । तर त्यहाँ पनि उपचार सम्भव नहुने भन्दै उनलाई बिएण्डबी अस्पतालमा थप उपचारका लागि पठाइयो ।

पीडित जीत मोक्तान र ढाडमा भएको घाऊ ।

लोकपथलाई प्राप्त घाउको फोटो हेर्दा जीतको हात र ढाडमा गम्भीर प्रकृतिको आक्रमण भएको देखिन्छ । हात र ढाडमा गहिरो चोट लागेको छ भने हातको केही नसा र ढाडको हाडसमेत काटिएको पाइएको छ ।

घाइतेमा देखियो प्यारालाइसिस

खुकुरी प्रहारबाट जीत मोक्तानको शरीरमा भएको घाऊ ।

गम्भीर आक्रमणमा परेका जीतको त्रिवि शिक्षण अस्पताल र बिएण्डबी अस्पतालमा २० दिन उपचार भयो । उपचारपछि उनलाई डिस्चार्ज त गरियो तर प्यारालाइसिस भएर । जीतका परिवारका एक सदस्यका अनुसार यति बेला जीतको एक हात चल्दैन । उनी राम्ररी बोल्नसमेत सक्दैनन् । जीतको उपचारमा परिवारले २० लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ, तर पनि उनी पहिलेजस्तै हिँडडुल गर्न सक्दैनन् । एउटा हात नै नचल्ने भएपछि उनको अधिकांश समय अहिले ओछ्यानमा नै बित्ने गरेको जीतका एक आफन्तले बताए ।

को थिए आक्रमणकारी ?

आक्रमणकारी लोब्साङ लामा ।

काभ्रेका जीत बहादुर मोक्तानलाई आक्रमण गर्ने समूहका सदस्य थिए सिन्धुपाल्चोकका लोब्साङ लामा । लामाको स्थायी ठेगाना सिन्धुपाल्चोक भए पनि उनको बौद्ध नजिकैको नारायानटार, बेसिगाऊँ र भद्रबासमा समेत एउटा घर थियो । लोब्साङ बौद्ध क्षेत्र मा कुटपिट, आक्रमण र गुन्डागर्दीको परिचित नाम थियो । उनी आफूलाई झिंगे भन्ने सञ्जय लामा र अर्का गुन्डा नाइके श्याम लामाको मान्छे हुँ भन्दै गुण्डागर्दी गर्ने गर्दथे । उनै लोब्साङले रेकी गरेर नै जीतमाथि आक्रमण गरेका थिए । जीतलाई आक्रमण गर्न जाँदा ४ जनाको समूह गएको पाइएको थियो ।

लोब्साङले पहिले पनि गरेका थिए छुरी प्रहार
बौद्ध क्षेत्रको गुन्डागर्दीमा संलग्न लोब्साङले यसअघि पनि एक युवकमाथि छुरी प्रहार गरेको पीडित जीतका एक आफन्तले बताए । माकलबारी क्षेत्रमा एक युवकसँग सामान्य विवाद भएपछि लोब्साङ आफैँले चाबहिलको के एल टावर अगाडि बोलाएर ती युवकमाथि पेटमा छुरी प्रहार गरेका थिए ।

लोब्साङ लामाको समूहले छुरी प्रहार गर्दैगर्दाको भिडियोको स्कृनसट ।

छुरी प्रहारबाट गम्भीर घाइते भएका ती युवक अहिले उपचारपछि निको भए पनि लोब्साङविरुद्ध जाहेरी नदिई बसेका छन् । कतै जाहेरी दिएमा मारिदिने भनी लोब्साङले धम्की दिएकाले उनले कतै जाहेरी दिन नसकेको पीडित जीतका आफन्तले बताए । लोब्साङको समूहले एक युवकमाथि छुरी हानेको भिडियोसमेत लोकपथसँग सुरक्षित छ ।

लोब्साङले माकलबारीको एक स्नुकर हाउसमा समेत एक व्यक्तिलाई आक्रमण गरेको जीतका आफन्तले बताए । स्नुकर हाउसमा एक व्यक्तिलाई लगातार हेल्मेटले हानेपछि उनी ढलेको र पछि उपचार गरिएको थियो ।

के गर्छन् लोब्साङ ?
सिन्धुपाल्चोकका लोब्साङ खास काम वा व्यवसाय केही पनि छैन । उनी गुण्डागर्दीमै संलग्न रहने गरेका छन् । लोब्साङका बुवा अशोक बम्जन बालुवा र गिट्टीको काम गर्छन् । बुवाको बालुवा र गिट्टीको काममा लोब्साङले गुण्डाको रूपमा सहयोगीको काम गर्ने गरेको पीडितका आफन्तले बताए ।

त्यसबाहेक लोब्साङले झिंगे भन्ने सूर्य लामा र श्याम लामाको आडमा गुण्डागर्दी गर्ने गरेको र बौद्ध क्षेत्रबाट असुली समेत गर्ने गरेको पाइएको छ । लोब्साङले कतिपय व्यक्तिलाई लुटपाट समेत गरेको पीडित जीतका आफन्तले आरोप लगाएका छन् ।

लोब्साङ र जीतको विवाद
लोब्साङ र जीत बहादुर मोक्तानको विवादको मुख्य कुरा के थियो भन्ने अझै खुलेको छैन । जीतका आफन्तले लुटपाटका उद्देश्यबाट मात्रै जीतमाथि आक्रमण भएको र आक्रमणपछि जीतको घाँटीमा रहेको तीन तोलाको सिक्री, हातको औँठी र गोजीमा भएको ४५ हजार रुपैयाँ समेत लुटिएको आरोप लगाएका छन् ।

तर प्रहरी भने जीतका आफन्तको यो दाबीमा सहमत छैन । जिल्ला प्रहरी परिसरका एक प्रहरी अधिकारीका अनुसार उक्त घटना लुटपाटको उद्देश्यबाट भएकै होइन । उक्त घटना बदला वा अन्य कारणबाट भएको प्रहरीको निष्कर्ष छ ।

जुन दिन जीतमाथि आक्रमण भयो, सोही दिन दिउँसो जीतको समूह र लोब्साङका बुवा अशोक बमजनबिच भनाभन हुँदा जीतको समूहले अशोक बम्जनमाथि सामान्य आक्रमण गरेको थियो । आक्रमणपछि अशोक बम्जनले जीतविरुद्ध बौद्ध प्रहरीमा उजुरीसमेत गरेका थिए ।

तर प्रहरीले छलफलमा बोलाउन नपाउँदै त्यसको २ घण्टापछि अशोक बम्जनकै छोरा लोब्साङ लामाको समूहले जीतमाथि गम्भीर आक्रमण गरेको थियो ।

केटीको विषयमा विवाद भएको आशंका
घटनाको अनुसन्धान गरेका एक प्रहरी अधिकृतका अनुसार उक्त घटना केटीको विषयमा भएको विवादको परिणाम समेत हुन सक्नेछ । ती प्रहरी अधिकृतले भने, ‘एउटा केटीको विषयलाई लिएर समेत आक्रमण भएको भन्ने सुनिएको छ । घाइतेले यस सम्बन्धमा केही बताएका छैनन् । अब आक्रमण गर्ने व्यक्ति फरार नै रहेको कारण के कति कारणले घटना भएको हो भन्ने नै खुलेको छैन । त्यस कारण बुवालाई आक्रमण गरेको बदला लिइएको हो कि केटीको कारणले हो भन्ने नै खुलेको छैन । वा अरू कुनै विवाद, लेनदेन वा केही थियो कि भन्ने खुलेको छैन । हामी लोब्साङको खोजीमै छौँ र उनी पक्राउ परेपछि मात्रै कारण थाहा हुन्छ ।’

सुस्तायो प्रहरी
घटना लगत्तै फरार रहेका लोब्साङको खोजीमा प्रहरीले भने चासो देखाएको छैन । प्रहरी वृत्त बौद्धले खोजी गरिरहेको भने पनि बौद्ध प्रहरी नियमित पुलिसिङमै व्यस्त हुनुपर्ने भएकाले आफ्नो क्षेत्रभन्दा बाहिर गएर खोज्न सक्दैन र भ्याउँदैन । यस्तोमा काठमाडौं उपत्यकामा हुने अपराधको अनुसन्धान र अपराधमा संलग्नको खोजी गर्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय हो । तर घटना भएको एक महिनाभन्दा लामो समय भइसकेको भए पनि यस कार्यालयले समेत लोब्साङलाई पक्राउ गर्न सकेको छैन ।

पीडित जीत मोक्तानका आफन्त ।

पीडितका आफन्तले भने, ‘प्रहरीलाई सोध्यो खोजी गर्दैछौँ भन्छन्, तर यत्रो समय हुँदा पनि पक्राउ नपर्नु भनेको खोजी नै नभएको हो जस्तो लाग्छ । नत्र कस्ता कस्ता अपराधी समातेको अपराध महाशाखाले लोब्साङलाई किन समात्न नसकेको त ?’

हामी व्यापक खोजीमा छौँ : प्रवक्ता काजीकुमार आचार्य
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्य आफूहरू लोब्साङ लगायतका आक्रमणकारीको व्यापक खोजीमा रहेको बताउँछन् । लोब्साङको व्यापक खोजी गरिरहेको भए पनि उनी कहाँ छन् भन्ने पत्ता नै लाग्न नसकेको एसपी आचार्यले बताए ।

आचार्यले लोकपथसँग भने, ‘अब पीडितलाई त रिजल्ट नआएसम्म खोजेकै छैन भन्ने लाग्छ नै । हामीले खोजेको कुरा उहाँहरूलाई भन्ने कुरा पनि भएन । हाम्रो पनि खोजीको पहिलो प्राथमिकतामा रहेका व्यक्ति हुन् लोब्साङ । हामी पनि अहिलेसम्म कुनै नतिजामा पुग्न सकेका छैनौँ । हामीले खोजी गरिरहेकै छौँ, तर उनी कहाँ छन् भन्ने नै पत्ता लगाउन सकिएको छैन ।’

परिसर पनि सुस्तायो

यसअघि गुन्डा नियन्त्रण अभियान भन्दै यसअघि गुण्डागर्दीमा संलग्न रहेकाहरूलाई धमाधम नियन्त्रणमा लिएर कारबाही चलाएको जिल्ला प्रहरी परिसर, काठमाडौं पनि यो घटनामा भने सुस्त देखिन्छ । परिसरले धाक धम्की दिएर असुली गर्ने गिरोहका केही सदस्यलाई पक्राउ गरी मुद्दा चलाएको भए पनि ज्यान नै लिने किसिमले आक्रमण गर्ने लोब्साङ लामा र उनको समूहको खोजीमा भने खासै चासो दिएको छैन ।

तर जिल्ला प्रहरी परिसर भने प्रहरीले चासो नदिएको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्छ । परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले यस घटनाको अनुसन्धानका लागि आफूहरूले निकै मिहेनत गरेको र अहिले पनि आक्रमणकारीको खोजी गरिरहेको भन्दै प्रहरी दत्तचित्त भएर लागिरहेको बताए ।

एसपी बोहोराले भने, ‘पीडित परिवारलाई आक्रमणकारी छिट्टै पक्राउ परेर मुद्दा चलोस् भन्ने लाग्नु स्वाभाविकै हो र उहाँहरूको गुनासोलाई पनि म गलत भन्दिन । तर काठमाडौं प्रहरीले नोटिसमा लिएर यो घटनाको अनुसन्धान गरेको र व्यापक खोजतलास गरिरहेको छ । प्रहरी सुस्ताएको छैन, मात्रै रिजल्ट नदेखिएको हो ।’

त्रासमा पीडित परिवार
यता पीडित परिवार भने यस घटनापछि थप त्रसित बनेका छन् । आक्रमणकारीको समूहले विविध माध्यमबाट थप धम्की दिएको, जाहेरी फिर्ता लिन दबाब दिएको र फिर्ता नलिए मारिदिनेसम्मको धम्की दिएको पीडितका आफन्तले बताए । मारिदिनेसम्मको धम्की दिएको र अपराधी पनि बाहिर घुमिरहेको कारण आफूहरू थप त्रासमा रहेको पीडितका आफन्तले बताए ।

घरमा कमाएर खुवाउने व्यक्तिकै उपचारमा लाखौँ खर्च भएपछि परिवारमा ऋण थपिएको पीडितका आफन्तले बताए । कमाउने व्यक्ति नै हात नचल्ने भएपछि काम गर्न नसक्ने भएको र त्यसले परिवारमा थप समस्या ल्याएको भन्दै पीडकमाथि तत्काल कारबाही गर्न पीडित परिवारले आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?