‘सामाजिक सञ्जाल बन्द गरेर नेपाललाई उत्तर कोरिया बनाउन खोजियो’

लोकपथ
532
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् ।

उनले सरकारले उक्त निर्णय गरेसँगै फेसबुक लाईभमा आउँदै सरकारले सामाजिक सञ्जाल बन्द गरेर उत्तर कोरियाको मोडलमा सरकार जान लागेको आरोप लगाए ।

‘अहिले नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेछ । यो निर्णय तपाईँलाई कस्तो लाग्छ ? के यो उत्तर कोरिया हो ? यो के गर्न खोजेको हो नेपाल सरकारले ? केपी ओलीको सरकारले ?,’ उनले भनेका छन् ।

त्यस्तै सामाजिक सञ्जाललाई नियमन गर्नका लागि ऐन कानुन बनाउन सकिने बताए । तर सरकारलाई खबरदारी गर्ने माध्यम बनेको फेसबुकलाई बन्द गरेर सरकारले जनताको मुख थुन्न खोजेको भन्दै आक्रोश व्यक्त गरे ।

‘सामाजिक सञ्जाललाई विधि भन्दा बाहिर जान नदिनका लागि हामीले ऐन कानुन पो बनाउने हो त,’ उनले भनेका छन्, ‘अहिले सामाजिक सञ्जाल सरकारले गरेका हरेक गतिविधिको खबरदारी गर्ने माध्यम बनेको छ । यही माध्यमलाई बन्द गरेर, यीनले प्रजातन्त्र भन्थे, लोकतन्त्र भन्थे, गणतन्त्र भन्थे अब सामाजिक सञ्जाल नै बन्द गर्ने ?’

सरकारले दर्ता हुन नआएका विभिन्न २६ सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको छ । मानिसको दैनिकी बनेको फेसबुक लगायतका सामाजिक सञ्जाल नै बन्द भएपछि अहिले जनदबाब बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?