मुलुकभर छरिएर रहेका स्वास्थ्य सेवाहरु एकीकृत गर्न जरुरी छ : मन्त्री पौडेल

लोकपथ
161
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुकभर छरिएर रहेका स्वास्थ्य सेवाहरु एकीकृत गर्न जरुरी रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित सबै प्रकारका स्वास्थ्य सुविधासम्बन्धी कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमा गाभ्न प्रस्ताव गरे । उनले स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु छरिएका कारण नागरिकलाई सस्तो, सर्वसुलभ र विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको लक्ष्य पूरा हुन नसकेको उनको भनाइ छ । उनले स्वास्थ्य क्षेत्रमा धेरै ठूलो खर्च भएपनि त्यसअनुसारको परिणाम आउन नसकेको उनको भनाइ छ । स्वास्थ्य प्रणालीलाई एकीकृत गरेर प्रभावकारिता वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले स्वास्थ्य बीमा बोर्डलाई केन्द्रीय निकायका रूपमा विकास गर्नुपर्ने बताए । उनले पालिकादेखि संघसम्म सञ्चालित सबै स्वास्थ्य सेवा कार्यक्रम, सामाजिक सुरक्षा कोष र सञ्चय कोषबाट सञ्चालनमा रहेका स्वास्थ्य सुविधासमेत स्वास्थ्य बीमा बोर्डमा गाभ्न जरुरी रहेको बताए ।

उनले भने, ‘नागरिकलाई सस्तो, सर्वसुलभ र नसक्नेलाई निःशुल्क रुपमा उपचार गराउनका निम्ति सरकारले जतिपनि स्वास्थ्य उपचारका सुविधाहरु उपलब्ध गराएको छ । त्यसलाई एकीकृत गर्न जरुरी छ । विभिन्न शीर्षकमा स्वास्थ्य सेवा उपलब्ध गराउने कुराले खर्च धेरै भएको छ । तर परिणाम त्यसअनुसार आउन सकेको छैन । त्यसैले जतिपनि स्वास्थ्य सेवाहरु उपलब्ध गराइएको छ । त्यो सम्पूर्ण सेवाहरुलाई एकीकृत ढंगबाट अगाडि बढाइदिनुपर्छ । पालिका तहबाट, प्रदेश तहबाट र संघीय तहबाट छुट्टाछुट्टै स्वास्थ्य सुविधाका निम्ति सञ्चालन गरिएका कार्यक्रमहरुलाई सम्पूर्ण रुपमा स्वास्थ्य बीमा बोर्डमा आवद्ध गरिनुपर्छ । सामाजिक सुरक्षा कोषबाट स्वास्थ्य सुविधा उपलब्ध गराउनका निम्ति जुन खर्च गरिएको छ । त्यो पनि स्वास्थ्य बीमा बोर्डमा गाभ्नुपर्छ । सञ्चय कोषमा जतिपनि स्वास्थ्य सुविधाका कार्यक्रमहरु छन् ति सबैलाई स्वास्थ्य बीमा बोर्डमा आवद्ध गरिनुपर्छ । त्यस्तो गर्न सकियो भने हामीले सस्तो, सर्वसुलभ र नसक्ने नागरिकलाई उपचार सेवा स्वास्थ्य बीमा बोर्डमार्फत उपलब्ध गराउन सक्छौं । हामीले यो प्रणालीलाई विकास गर्नको लागि बहस र छलफल गरिरहेका छौं ।’

उनले मुलुकमा काम गर्ने वातावरण निर्माण गर्न नसक्दा स्वास्थ्य क्षेत्रका जनशक्तिहरु पलायन भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले सेवा सुविधाको अभाव तथा काम गर्ने वातावरण अभावका कारण स्वास्थ्यकर्मी विदेश पलायन भइरहेको उल्लेख गर्दै सरकारले यी समस्याहरुको समाधान हुनेगरी नीति ल्याउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?