रास्वपा सांसदको व्यंग्य- ‘सरकार हैँजा छाडेर मान्छे नियन्त्रण गर्न थाल्यो’

लोकपथ
315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार विपद् जोखिम तथा रोग न्यूनिकरणमा चुकेको भन्दै आपत्ति जनाएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले सो कुरा बताएका हुन् ।

उनले सरकारले गलत रवैया देखाएकै कारण विपद्का घटनाबाट आम नागरिकको ज्यान गइरहेको भन्दै कटाक्ष गरे । साथै वीरगञ्जमा हैँजा फैलिएको डेढ हप्ता बित्न लाग्दा समेत सरकारले चासो नदेखाएको बताए । साथै हैँजा नियन्त्रणका लागि आवाज उठाउनेहरुलाई सरकारले पक्राउ गर्न लगाएको भन्दै ‘सरकार हैँजा नियन्त्रण गर्नुको साटो मान्छे नियन्त्रण गर्न थालेको’ भन्दै कटाक्ष गरे ।

‘विपद् व्यवस्थापन र रोग नियन्त्रणमा सरकारको लापरबाहीले सीमा नाघेको छ । यसै वर्ष ३४४७ विपद्का घटनामा २२१ नागरिकले ज्यान गुमाइसकेका छन्,’ उनले भने, ‘वीरगञ्जमा हैँजा फैलिएको डेढ हप्ता बित्दा पनि स्रोत पत्ता लागेको छैन । जनता त्रासमा छन्, तर सरकार मौन छ । के सरकारले हैँजा नियन्त्रण गरिरहेको छ कि मान्छे नियन्त्रण ? अझ बेथितीविरुद्ध बोल्नेलाई षडयन्त्र गरेर जेलमा हाल्ने काम भइरहेको छ, यस्तो सरकारलाई सरकारको नियन्त्रणमा होइन अपराधीको नियन्त्रणमा परेको भन्नुपर्छ । किरण शाहलाई तत्काल रिहा गरियोस् ।’

त्यस्तै सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुको साटो नियन्त्रण गर्न खोजेको आरोप लगाए । अहिलेको अवस्थामा धेरै व्यवसायहरु सामाजिक सञ्जालसँग सम्बन्धित रहेको तर सरकारले त्यसैलाई बन्द गरेर आम रुपमा समस्या सिर्जना गर्न खाजेको टिप्पणी गरे । सरकारले एक हप्ता, दुई हप्ता भन्दै जनतालाई धम्की दिने गरेको आरोप लगाए ।

त्यस्तै यसअघि आफ्नो पार्टी रास्वपाले दिने गरेको जस्तो आगामी ०८४ सालको निर्वाचनको धम्की सरकारलाई दिएका छन् । उनले आगामी ०८४ सालसम्म आफूहरु सहेर बस्ने त्यसपछि जनताले नै निर्णय गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?