काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले शुक्रबारदेखि सुरु हुने दोस्रो विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुनेछन् ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ हुने महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यस्तै, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गर्नेछन् ।
यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा। पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोगका प्रतिवेदन पेस गर्नेछन् । प्रस्तुत प्रतिवेदनमा समूहगत छलफल हुनेछ ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार ओलीको राजनीतिक प्रतिवेदनमा विकसित राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषणसहित वर्तमानका प्रमुख चुनौती, पार्टीको कार्यदिशा र कार्यभार समेटिनेछ ।
प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने, नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष राजनीतिक प्रस्ताव र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पार्टीको गन्तव्यका रूपमा अघि बढाउने मार्गचित्र रहने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया