काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सक्रिय भएकाले देशभर मौसममा असर पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यसको प्रभावले बिहीबार बिहान कोशी र बागमती प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा भएको छ भने मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा समेत हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनीसहित पहाडी भूभागका धेरै स्थान र तराईका थोरै ठाउँमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै मधेश र लुम्बिनी प्रदेशको तराईमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
राति पनि देशको अधिकांश पहाडी भेगमा बदली रहने र कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने चेतावनी विभागले दिएको छ। लुम्बिनी प्रदेशको तराईमा भने हावाहुरी चल्ने सम्भावना कायम रहने जनाएको छ।
महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा भारी वर्षाको सम्भावनाले जनधनको क्षति हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया