लगातार गिरावटमा नेप्से, आज १५ अंक घट्दा कारोबार ५ अर्ब नाघ्यो

लोकपथ
98
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार पनि घटेको छ । मंगलबार १९.८९ अंकले घटेको नेप्से बुधबार थप १५.६४ अंकले ओरालो लाग्दै २७२६.३३ अंकमा झरेको हो ।

बुधबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य घटेपछि समग्र बजार सूचक दबाबमा आएको हो । नेप्से सूचक घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ ।

पछिल्लो समय शेयर कारोबार उधारोमा गर्ने प्रवृत्ति बढेसँगै बजार सूचक अस्थिर बनेको विश्लेषण गरिएको छ । लगानीकर्ताले उधारोमा शेयर किन्ने र ब्रोकरको दबाबमा बिक्री गर्नुपर्दा बजारमा आपूर्ति बढ्ने गरेको छ, जसले सूचक माथि जान सकेको छैन ।

बुधबार ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २ सय १३ कम्पनीको मूल्य घटेको छ । कारोबार भएका समूहगत परिसूचकहरूमध्ये व्यापार (३.१८ अंक) र सामूहिक लगानी कोष (०.०४ अंक) मात्र बढेका छन् । अन्य सबै समूहगत परिसूचकमा गिरावट आएको छ ।

बुधबार बैंकिङ ७.९४, विकास बैंक ४९.२२, वित्त १८.३६, होटल ६५, जलविद्युत ३२.४३, लगानी ०.५९, जीवन बीमा ७२.५९, उत्पादनमूलक ३०.१०, लघुवित्त ३५.१४, निर्जीवन बीमा ४९.२९ र अन्य समूह ७.२८ अंकले घटेका छन् ।

यस दिन ३ सय २६ कम्पनीका ६८ हजार ५९४ कारोबारमार्फत १ करोड १३ लाख ४५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा यो कारोबार रकम बढी हो । मंगलबार ३ सय २३ कम्पनीका ८९ हजार ७७५ कारोबारमार्फत ४ अर्ब ३८ करोड रुपैयाँ बराबर १ करोड ५ लाख ३५ हजार कित्ता शेयर कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?