काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताएका छन् ।
बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा प्राडा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अटिजमसम्बन्धी अध्ययन प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले प्रारम्भिक चरणमै प्रत्येक प्रदेशमा कम्तीमा एक/एक वटा अटिजम स्कुलको खाँचो रहेको औँल्याए ।
उनका अनुसार काठमाडौं महानगरपालिका–४ बुढानिलकण्ठस्थित जग्गामा अटिजम स्कुल निर्माण प्रक्रिया सुरु भइसकेको छ । भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको र चालु आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँ छुट्याइएको उनले जानकारी दिए ।
मन्त्री पौडेलले काठमाडौं महानगरपालिकासँग समन्वय गरेर पहिलो चरणमा व्यवस्थित अटिजम स्कुल निर्माण गर्ने र आगामी दिनमा सातै प्रदेशमा विस्तार गर्ने दीर्घकालीन योजना अघि बढाइने बताए ।
उनले हालसम्म नेपालमा अटिजम भएका बालबालिकाको आधिकारिक तथ्यांक नपाइएको उल्लेख गर्दै अध्ययन र अनुसन्धानलाई प्राथमिकतामा राख्ने आवश्यकतामा पनि जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया