चीनको सैनिक परेड : चर्चामा प्रधानमन्त्री ओलीको तस्बिर

लोकपथ
511
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ४ दिनदेखि छिमेकी देश चीनको भ्रमणमा रहेका छन् । गत शनिबार चीनतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली आज स्वदेश फर्किँदैछ ।

प्रधानमन्त्री ओली सांघाई शिखर सम्मेलन (एससीओ) मा भाग लिन त्यसतर्फ प्रस्थान गरेका थिए ।

त्यहाँ रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनफिङ, उपराष्ट्रपति हान चङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य देशका प्रधानमन्त्रीहरुसँग समेत प्रधानमन्त्री ओलीको भेट भयो । साथै एससीओ सम्मेलनलाई सम्बोधन समेत गरेका प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । साथै हालै मित्र राष्ट्रहरु चीन र भारतले नेपालको भूमी लिपुलेक हुँदै व्यापार गर्ने सहमति भएको केही समयपछि नै चीन पुगेका प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट आफ्नो अडान कसरी राख्लान् चासोका साथ हेरिएको थियो । ओलीले सीसँगको भेटका क्रममा दुई देशबिचको सम्बन्धलाई स्मरण गराउँदै नेपालको भूमी प्रयोग गरेर व्यापार खोलिएको विषयमा आपत्ति जनाए । साथै सीले दुई देश (नेपाल र भारत) ले आफ्नो सीमाको विषयमा मिलेर जाउन् भन्ने धारणा राखे । ओलीले आफ्नो तर्फबाट स्पष्ट धारणा राखेको भन्दै प्रशंसा समेत भएको छ ।

विश्वका नेताहरु पुगेको सन्दर्भमा बुधबार राजधानी बेइजिङमा चीनले विशाल सैन्य परेडको आयोजना गरिएको थियो । जहाँ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका शासक किम जोङ उनसँग राष्ट्रपति सी देखिए । त्यहाँ अन्य देशका प्रधानमन्त्रीहरु समेत उपस्थित रहेका थिए ।

सैन्य परेडका क्रममा विश्वका तीन शक्तिशाली नेता अघिअघि र अन्य पछिपछि देखिँदा प्रधानमन्त्री ओली समेत सोही समूहमा देखिए । प्रधानमन्त्री ओली तीन नेताहरु भन्दा तीन लेयर पछाडी देखिए, जुन तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । कतिपयले विश्वका शक्तिशाली देशको तुलनामा नेपाल पछि परेका कारण नेपालको प्रतिनिधित्व गरेर गएका प्रधानमन्त्री ओली पछि देखिएको भन्दै आलोचना समेत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?