असोज १ गतेदेखि विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू हुने

लोकपथ
308
Shares

काठमाडौं। अध्यागमन विभागले आगामी असोज १ गतेदेखि विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू गर्ने भएको छ ।

 नेपाल भित्रिने विदेशी नागरिकको सुरक्षा, सूचना व्यवस्थापन, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रणाली विकास गरिएको हो ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार पहिलो चरणमा असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रूपमा लागू हुनेछ ।

दोस्रो चरणमा मंसिर १ गतेदेखि यसलाई सबै तारे होटल, विमान कम्पनी, टुर एण्ड ट्राभल्स, मनी एक्सचेन्ज लगायतमा विस्तार गरिनेछ । त्यसपछि क्रमशः सबै होटल, गेष्ट हाउस तथा अन्य सेवाप्रदायक संस्थाहरूमा अनिवार्य गरिने विभागले जनाएको छ ।

महानिर्देशक तिवारीका अनुसार विदेशी नागरिकलाई प्रत्यक्ष समावेश नगराइ, उनीहरूलाई सेवा प्रवाह गर्ने होटल, ट्राभल एजेन्सी, बैंक, मनी एक्सचेन्ज, विमान तथा सवारी कम्पनीमार्फत सूचना अपडेट गरिनेछ । होटलहरूले पर्यटकको चेक(इन र चेक(आउटको विवरण मात्रै विभागको प्रणालीमा राख्ने व्यवस्था मिलाइएको छ ।

उनले भने, ‘विदेशी नागरिकहरूको गतिविधि राज्यको सूचनामा हुनु अत्यावश्यक छ । पहिलो कारण सुरक्षा र आवश्यक परेको बेला उद्धार गर्न सजिलो होस् भन्ने हो । दोस्रो, नेपालभित्र विदेशीले भिसा र कानुन विपरीत गतिविधि गरे तत्काल पत्ता लगाउन सकियोस् भन्ने हो ।’

व्यक्तिगत डाटा दुरुपयोग हुने आशंका अस्वीकार गर्दै तिवारीले भने, ‘यो राज्यले लिन लागेको डाटा हो । भिसा दिने बेलामै हाम्रोमा आवश्यक सबै विवरण हुन्छ । अहिले भने उनीहरूको आवागमन मात्र रेकर्ड हुन्छ ।’

विभागका अनुसार, यो प्रणालीले आपतकालीन अवस्थामा पर्यटकको अवस्थाबारे तुरुन्तै विदेशी नियोग तथा परिवारलाई जानकारी दिन सहयोग गर्नेछ । साइबर सुरक्षाका लागि ‘रोबर्ट सिस्टम’ समेत विकास गरिएको विभागले जनाएको छ ।

यस प्रणालीलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि ७७ वटै जिल्लाका अनुगमन समितिहरूलाई पत्राचार भइसकेको र जिल्ला प्रशासन कार्यालयमार्फत नियमित अनुगमन हुने विभागले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?