काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनसम्बन्धी आरोपलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै पूर्णरूपमा खारेज गरेकी छन् ।
मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संवैधानिक परिषद्मा नेपाली कांग्रेसको प्रतिनिधित्व नहुनु र आफू विपक्षी सदस्य भएको कारण ठुला दलहरूले बहुमत सिद्ध गर्न आफूलाई हटाउन खोजेको दाबी गरिन् ।
‘बेचिएका भनिएका बच्चाहरूले एक वर्षअघि नै मिडियामा आएर प्रष्ट पारेका छन् । आरोप बिना अध्ययन एमाले सांसद योगेश भट्टराईले लगाउनुभएको हो,’ उनले भनिन् । रानाले आफ्नो संस्था ‘पीए नेपाल’ले जेलमा रहेका अभिभावकका बच्चाहरूलाई संरक्षण र शिक्षा मात्र दिएको स्पष्ट पारिन् ।
उनले बच्चा र अभिभावकहरू नै आरोप खण्डनका मुख्य प्रमाण रहेको उल्लेख गर्दै भनिन्, ‘बच्चाहरूको गोपनीयतामाथि राजनीति गर्नु संगीन अपराध हो । मैले संस्था छोडिसकेकी भए पनि ती बच्चाहरूले ‘आमा’ भन्दै बोलाउँछन्, त्यसैले भेट्न जान्छु ।’
अमेरिकी दूतावासलाई लेखिएको भनिएको पत्रबारे उनले भनिन्, ‘एम्बेसीबाट रिकमेन्ड मागिएको थियो । मैले पत्र तयार गरे पनि फर्वार्ड गरेको छैन, त्यो अमेरिका पुगेको छैन ।’ तत्कालीन पार्टी महामन्त्री मुकुल ढकाललाई जानकारी गराइएको र तत्कालीन गृहमन्त्री रवि लामिछानेको कार्यकालमा भएको छानबिनले पनि केही नभेटिएको उनको भनाइ छ ।
३५ वर्षदेखि बालसंरक्षण क्षेत्रमा काम गर्दै आएको अनुभव उल्लेख गर्दै उनले आफ्ना प्रयासलाई कलंकित नगर्न आग्रह गरिन् । ‘मैले बालबेचबिखन रोक्न र शिक्षामार्फत परिवर्तन ल्याउन काम गरेकी हुँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाएकी मलाई बच्चाजस्तो व्यवहार गर्नु राम्रो होइन,’ उनले भनिन् ।
उपसभामुख रानाले राष्ट्रपति विद्यादेवी भण्डारीले अघि सारेको ‘आरोप लाग्ने बित्तिकै पद निलम्बन हुनुपर्ने होइन’ भन्ने धारणा समर्थन गर्दै लोकतन्त्रको अनुभूति हुने गरी सरकार काम गर्नुपर्नेमा जोड दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया