महाकाली नदीमा पानीको बहाव घट्दो : बाढी विस्थापित अझै घर फर्कन सकेनन्

लोकपथ
119
Shares

कञ्चनपुर । अविरल वर्षापछि आएको बाढीका कारण दोधार चाँदनी नगरपालिकाका तीन वडाका बासिन्दा अझै पनि घर फर्कन सकेका छैनन् । दुई दिनअघिदेखि जोगबुढा नदीमा आएको बाढीले ती क्षेत्रका बस्ती डुबानमा परेपछि ५४ घरका २१८ जना विस्थापित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार विस्थापितलाई नजिकैका विद्यालय तथा सुरक्षित स्थलमा राखिएको छ । वडा नं ८ रामपुरे टापुर जर्गा टोलका २५ घरका ७० जना जनज्योति माध्यमिक विद्यालयमा, वडा नं ३ पटरा खल्ला टोलका १५ घरका ५५ जना जमुना आधारभूत विद्यालयमा र वडा नं १० शान्ति टोलका १२ घरका ४० जना अम्बिका माध्यमिक विद्यालयमा बस्दै आएका छन् ।

त्यस्तै, सुन्दरनगरस्थित सशस्त्र प्रहरी बिओपीका २३ जना ओमकार आधारभूत विद्यालयमा र कञ्जभोजस्थित ३० जनालाई सहरी खोप केन्द्र भवनमा सारिएको छ । समयमै उद्धार कार्य गर्न सकिएकाले मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महाकाली नदीको बहाव क्रमशः घट्दै गइरहेको छ । आज बिहान ७ बजे गरिएको मापनअनुसार नदीमा पानीको बहाव एक लाख ७१ हजार ९१३ क्यूसेक रहेको थियो । तर, सीमा पुल बनबसामा चारपाङ्ग्रे सवारी अझै सञ्चालन हुन सकेको छैन । नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि सुरक्षाका कारण पुलमा सवारी सञ्चालन रोक्ने गरिएको छ ।

सोमबार साँझ महाकाली नदीमा यस वर्षकै उच्च बहाव दुई लाख ७१० क्यूसेक पुगेको थियो । प्रहरीले पानीको बहाव थप घटेमा विस्थापित बासिन्दा आजै घर फर्कन सक्ने सम्भावना रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?