पाटन संयुक्त क्याम्पस: ऐतिहासिक विरासत तर उपेक्षित शैक्षिकस्थल

लोकपथ
700
Shares

– तिलक बहादुर कुमाल

काठमाडौं । नेपाली शैक्षिक इतिहासमा गौरवशाली अध्यायको रूपमा रहेको पाटन संयुक्त क्याम्पसले आफ्नो ७२औँ स्थापना दिवस मनाउँदैछ ।

विक्रम संवत् २०११ साल भदौ १७ गते स्थापना भएको यो क्याम्पस त्रिभुवन विश्वविद्यालय भन्दा पनि जेठो छ, र यसले नेपाली उच्च शिक्षाको एक महत्त्वपूर्ण स्तम्भको रूपमा आफ्नो यात्रा सुरु गरेको थियो । आजको यो ऐतिहासिक दिनले हामी सबै विद्यार्थी, शिक्षक र पूर्व विद्यार्थीलाई गौरवान्वित गराउँदै, यसको गरिमामय इतिहासलाई सम्झन र यसको भविष्यको विकासको लागि चिन्तन गर्ने अवसर पनि दिएको छ ।

पाटन संयुक्त क्याम्पसले सात दशकभन्दा बढीको आफ्नो लामो यात्रामा देशको निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने हजारौँ योग्य मानिसहरू तयार पारेको छ । यस क्याम्पसको कोठाबाट धेरै व्यक्तिहरू उच्च सरकारी ओहोदामा पुगेका छन्, पुग्ने तयारीमा छन् । धेरै जना राष्ट्रिय राजनीतिको उच्च पदमा पुगिसकेका छन् भने अरू धेरै व्यक्तिहरू त्रिभुवन विश्वविद्यालयकै उच्च पदमा पुगेर देशको शिक्षा नीति निर्माणमा योगदान पुराइरहेका छन् । यसको शैक्षिक परम्परा र गुणस्तरीय शिक्षणको ख्याति नै यस क्याम्पसको सबैभन्दा ठुलो अचल सम्पत्ति हो । अनुभवी र निष्ठावान् शिक्षकहरूको सत्प्रयासले गर्दा नै सीमित स्रोतभित्र पनि यस क्याम्पसले उत्कृष्ट शैक्षिक प्रतिफल दिन सफल भएको छ ।

वर्तमान अवस्था, सम्भावना र चुनौती
यस्तो गरिमामय इतिहास बोकेको यस क्याम्पसको भौतिक अवस्था हेर्ने हो भने यसलाई काठमाडौंकै कर्णाली भन्दा हुन्छ । लगभग ३५ देखि ४० वर्ष अगाडि बनाइएका जीर्ण भवन र टहरामा आज पनि विद्यार्थीहरू अध्ययन गर्न बाध्य छन् । कक्षाकोठा, प्रयोगशाला र पुस्तकालय जस्ता आधारभूत संरचनाहरू अत्यन्तै कमजोर अवस्थामा छन् । विद्यार्थीको सङ्ख्या घटेको छैन, बरु बढेको छ । हाल तीन वटा संकाय (मानविकी तथा समाजशास्त्र, विज्ञान र व्यवस्थापन) अन्तर्गत २८ वटा विभागमा १० हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । यो सङ्ख्या यसको भौतिक क्षमतासँग तुलना गर्ने हो भने अत्यन्तै धेरै हो । एउटै कक्षाकोठामा सयौँ विद्यार्थी, टुटफुट बेन्च, अव्यवस्थित पढाइको वातावरण क्याम्पसभित्रको यथार्थ हो ।

यो क्याम्पसमा खास गरी मध्यम र निम्न मध्यम वर्गीय परिवारका विद्यार्थीहरू नै पढ्न आउने गर्छन् । उनीहरूको सपना हो – कम खर्चमा गुणस्तरीय शिक्षा प्राप्त गरेर आफू र आफ्नो परिवारको भविष्य उज्यालो बनाउनु । तर राज्यले गरेको उपेक्षाले उनीहरूको सपनालाई जीर्ण पूर्वाधारले थप जीर्ण बनाइदिएको छ । त्यही विद्यार्थीको इच्छाशक्ति, लगन र मिहेनतले यो क्याम्पस उपत्यकाभित्र रोजाइको क्याम्पस बन्न सकेको छ, राज्यको सहयोगले होइन ।

भविष्यको आशा : उत्कृष्ट बनाउने जिम्मा राज्यकै हो
यो क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसहरूमध्ये पहिलो नम्बरमा पुग्न सक्ने क्षमता राख्छ । यसको इतिहास छ, विद्यार्थी छन्, जग्गाजमिन छन्, राम्रा शिक्षक छन् र सफल पूर्वविद्यार्थीको ठुलो समुदाय छ । तर यसको जीर्ण भौतिक संरचनालाई आधुनिकीकरण गर्ने, नयाँ शैक्षिक प्रविधिसँग जोड्ने र विद्यार्थीहरूको लागि अनुकूल वातावरण निर्माण गर्ने काम राज्यले नै गर्नुपर्छ । यसको संरक्षण र शैक्षिक विकासका लागि निम्न कदमहरू जरुरी छन् :

१. आधुनिक भौतिक पूर्वाधारको निर्माण : नयाँ भवन, स्मार्ट कक्षा, उन्नत प्रयोगशाला र आधुनिक पुस्तकालयको निर्माण ।
२. बजेटको पर्याप्तता : क्याम्पससँग प्रशस्त जग्गाजमिन भए पनि बजेटको अभावमा न राम्रो भवन बनाउन सकेको छ, न त ल्याब र पुस्तकालय नै । यसका लागि क्याम्पसले पहल गर्ने र राज्यले बजेट दिने व्यवस्था गर्नुपर्छ ।
३. शैक्षिक स्रोत सामग्रीमा लगानी : अब क्याम्पसमा अनलाइन जर्नल, इ लाइब्रेरी र शोधका लागि कोष उपलब्ध हुनुपर्छ जसले यो क्याम्पसमा विद्यार्थीलाई आकर्षित गरिरहन सकोस् र उत्कृष्ट शैक्षिक वातावरण बनाउन सकियोस् ।
४. क्याम्पस प्रशासनलाई स्वायत्तता : क्याम्पसलाई सेन्टर फर एक्सिलेन्स बनाउन माथिका पूर्वाधारका साथमा क्याम्पस प्रशासनलाई स्वायत्तता प्रदान गर्नुपर्दछ जसले व्यवस्थित र सुशासनमूलक क्याम्पस बनाएर अगाडि बढाउन सक्छ ।

आगामी बाटो
पाटन संयुक्त क्याम्पस केवल इँटा र सिमेन्टको ढिस्को मात्रै होइन, यो हजारौँ युवाको सपना, आकांक्षा र उज्यालो भविष्यको केन्द्रसमेत हो । यसको ७२औँ स्थापना दिवसको अवसरमा हामी सबै विद्यार्थीका तर्फबाट सम्बन्धित निकायहरूलाई आग्रह गर्दछौँ कि यस ऐतिहासिक शिक्षण संस्थाको गरिमालाई कायम राख्दै, यसको भौतिक र शैक्षिक विकासका लागि ठोस कदम चालियोस् । राज्यले मन खोलेर शिक्षामा लगानी गर्ने हो भने यस क्याम्पसको प्रगति निश्चित छ । हामी विद्यार्थीहरू आफ्नो मिहेनत जारी राख्ने छौँ, अब राज्यले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्छ ।

(कुमाल क्याम्पसका विद्यार्थी तथा अनेरास्ववियुका निवर्तमान क्याम्पस कमिटी अध्यक्ष हुन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?