काठमाडौं । इन्डोनेसिया मध्य जाभास्थित सिलाकाप जिल्लाको टेगालरेजा गाउँकी ५९ वर्षीया रोसिता सुदार्तीका लागि खाना पकाउने कामले नयाँ अर्थ पाएको छ । उनी अब प्रयोग गरिसकेको तेल संकलन गरी बेचेर आम्दानी गर्ने भएकी छन्, जसले वातावरणलाई पनि प्रदूषणबाट जोगाएको छ ।
टेगालरेजाका थुप्रै गाउँलेहरू पनि यसरी नै आफ्नो प्रयोग गरिसकेको तेल संकलन गरी ‘बियो अस्री’ फोहोर बैंकमा बिक्री गर्दैछन् ।
यो फोहोर बैंक इन्डोनेसियाको सरकारी तेल कम्पनी ‘पर्टामिना’ सँग सहकार्य गरी उक्त तेललाई विमान उडानका लागि प्रयोग हुने टिकाऊ इन्धनमा रूपान्तरण गर्छ ।
इन्डोनेसियाले पहिलोपटक सफलतापूर्वक प्रयोग गरिसकेको पकाउने तेललाई टिकाऊ विमान इन्धनमा परिवर्तन गरेको छ । घरेलु विमान सेवा प्रदायक ‘पेलिता एयर’ ले यस इन्धनलाई हाल जाकार्ता–बाली उडानहरूमा प्रयोग गर्न थालेको छ ।
रोसिता सुदार्तीले भनिन्, ‘पहिले हामी यस तेललाई फोहोरमा फाल्थ्यौं वा खोलामा छोड्थ्यौं, जसले वातावरणमा नकारात्मक असर पुर्याउँथ्यो । तर अहिले हामी यसलाई संकलन गरी आम्दानी गर्न पाउँदा धेरै खुसी छौं ।’
उनले प्रति किलो करिब ७ हजार रुपैयाँ आम्दानी हुने जानकारी दिइन् ।
सङ्कलित तेललाई ‘पर्टामिना किलाङ इन्टरनेसनल’ को सिलाकाप प्रशोधन केन्द्रमा रूपान्तरण गरिन्छ । कम्पनीका सञ्चालन निर्देशक दिदिक बहागियाले यस परियोजनालाई हाल सिलाकापमा मात्रै सञ्चालनमा राखिएको तर आगामी वर्षमा रियाउ र पश्चिम जाभामा रहेका अन्य प्रशोधन केन्द्रहरूमा पनि विस्तार गर्ने योजना रहेको जानकारी दिइन् ।
उनले भनिन्, ‘हामी वार्षिक ३८ हजार किलोलीटर तेल प्रशोधन गर्ने लक्ष्यमा काम गर्दैछौं, जसबाट करिब १२ लाख लिटर टिकाऊ विमान इन्धन उत्पादन हुने अपेक्षा राखिन्छ । यसले देशभित्रको माग पूरा गर्नुका साथै निर्यातका अवसरहरू पनि सृजना गर्नेछ ।’
पर्टामिनाका सञ्चार उपाध्यक्ष फाजर जोको सन्तोसोले देशका प्रमुख सहरहरूमा तेल सङ्कलन केन्द्र स्थापना गरिएको जानकारी दिँदै भने, ‘जो कोही आफ्नो प्रयोग गरिसकेको तेल बेच्न इच्छुक हुनुहुन्छ भने नजिकको केन्द्रमा सहजै जान सक्नुहुन्छ । मूल्य प्रति लिटर करिब पाँच हजार पाँच सय रुपियाँसम्म रहेको छ ।’
यस परियोजनाले हवाई उड्डयन क्षेत्रको कार्बन उत्सर्जन घटाउन सहयोग पुर्याउने मात्र नभई गाउँघरमा आधारित आर्थिक गतिविधिलाई पनि प्रोत्साहन गर्ने विश्वास गरिएको छ । यो कदम इन्डोनेसियाको हरित उर्जा लक्ष्यतर्फ एक महत्वपूर्ण प्रगति हो ।
इन्डोनेसियाली तेल सङ्कलक सङ्घका अध्यक्ष मातियास तुमाङ्गोरले देशभर ठूलो मात्रामा प्रयोग गरिसकेको तेल सङ्कलन गर्न सकिने बताए । ऊर्जा अध्ययन अनुसार, प्रत्येक वर्ष २० लाख किलोलीटर तेल सङ्कलन गर्ने सम्भावना रहेको छ, जुन घरपरिवार, बजार र खाद्य उद्योगबाट सङ्कलन गर्न सकिन्छ ।
ऊर्जा तथा खानी मन्त्रालयका महासचिव दादन कुशदियानाले यस सम्बन्धमा भने, ‘प्रयोग गरिसकेको तेलबाट बनेको टिकाऊ विमान इन्धनले परम्परागत इन्धनको तुलनामा करिब ८४ प्रतिशतसम्म कार्बन उत्सर्जन घटाउन सक्छ । यो विमान क्षेत्रको हरित रूपान्तरणका लागि एक सकारात्मक कदम हो ।’
उनले थपे, ‘यो हाम्रो हरित ऊर्जा यात्राको व्यावहारिक सुरुवात हो । यद्यपि जैविक इन्धन विकास र विभिन्न निकायहरूबीच सहकार्य अझ मजबुत बनाउन आवश्यक छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया