काठमाडौंबाट ठूलो परिमाणमा भेप बरामद, तीन जना पक्राउ

लोकपथ
5k
Shares

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो परिमाणमा विद्युतीय चुरोट ‘भेप’सहित तीन जनालाई पक्राउ गरेको छ । 

सो कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, सोमबार साँझ काठमाडौंको चमतीबाट ३ हजार ८ सय भेपसहित उनीहरूलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा, मेलम्ची नगरपालिका–७ घर भएका ५२ वर्षीय रामबहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ गाउँपालिका–४ का ४२ वर्षीय कृष्णबहादुर गुरुङ छन् । उनीहरू भरिया रहेको पाइएको प्रवक्ता आचार्यले बताए ।

पक्राउ परेकाहरूलाई भेपसहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाउने तयारी भइरहेको छ । 

उनीहरूले रमेश श्रेष्ठको घरको भुइँ तलाको कोठामा उक्त भेप भण्डारण गरेर राखेका थिए । 

भन्सार छलेर उक्त भेप चीनबाट नेपाल भित्र्याइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?