चिनी तस्करीमा ‘माथि’कै मिलेमतोको आशंका, सशस्त्रका गणपति हटाइए

डीआईजी र एआईजीमाथि छानबिन हुनसक्ने

लोकपथ
2.8k
Shares

काठमाडौं । रौतहटको गरुडा नगरपालिकास्थित शिवनगर, दुधियाभारमा रहेको तस्करीको चिनीलगायतका सामान ‘गोलमाल’ गरेको घटनामा माथिल्लो निकायको पनि संलग्नता रहेको आशंका गरिएको छ । 

७०० बोरा चिनीमध्ये ५९४ बोरा लुकाइएको यो घटनामा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ११ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सन्तोषकुमार बस्नेतलाई जिम्मेवारीबाट हटाएर उनको ठाउँमा रामहरि अधिकारीलाई पठाएको छ । यो घटनामा सशस्त्र मुख्यालयको कानुन महाशाखाले अनुसन्धान गरिरहेको छ ।

यो घटनामा कानुन महाशाखाले सुरुमा प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर लामालाई छानबिनका लागि बोलाएको थियो । छानबिनका क्रममा उनले ११ नम्बर गणका गणपति बस्नेत र अर्का डीएसपी राजेन्द्रबहादुर बस्नेतको पनि संलग्नता रहेको बताएपछि उनीहरू दुबैलाई मुख्यालय झिकाइएको थियो ।

छानबिनमा तानिएका लामा करिब ४ महिनाअघि मात्रै रौतहट पुगेका थिए । उनी यसअघि पनि रौतहटको बोर्डर आउट पोस्ट (बीओपी)मा बसेका थिए । सशस्त्र प्रहरी प्रस्तावित गुल्म गौरका इन्चार्ज डिएसपी गाण्डीवराज स्याङतान साउन २६ मा बिदामा थिए । उनको स्थानमा अमर लामाले त्यही २६ गते कमान्ड सम्हालेका थिए । लामा साउन १३ गते मात्रै ११ नम्बर गणमा हाजिर भएका थिए ।

स्रोतका अनुसार, कानुन महाशाखाले हिजो आइतबार गणपति बस्नेतसँग बयान लिएको थियो । बयान चित्तबुझ्दो नभएको भन्दै कानुन महाशाखाले उनलाई तत्कालै गणको जिम्मेवारीबाट हटाउन सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयलाई सुझाव दिएको थियो । यो सुझावलगत्तै गणपति बस्नेतलाई गणको जिम्मेवारीबाट हटाइएको थियो । 

स्रोतका अनुसार, गणपति बस्नेतले ‘पहिलादेखि नै यसरी नै काम हुने गरेको, आफ्नो तहबाट मात्र यो काम सम्भव नभएको’ बयान दिएका छन् । उनको यो बयानले उनीभन्दा माथिल्लो तहका अधिकारीहरू पनि तानिने सम्भावना छ । सशस्त्र प्रहरीको हकमा त्यहाँ उनीभन्दा माथिल्लो तहका अधिकृत भनेको नम्बर २ बाहिनी कार्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकाल हुन् । 

सीमाक्षेत्र भन्दा ३५ किलोमिटरभित्रको बजारमा त्यति ठूलो मात्रामा अवैध सामान भण्डारण हुनुमा जिल्ला प्रशासनदेखि प्रहरी प्रशासनका उच्च अधिकारीहरूको पनि मिलेमतो रहेको आशंका गरिएको छ ।

शिवनगरमा छापा मारिएको गोदाम नेपाल भारत सिमानाकाबाट करिब ३५ किलोमिटर टाढा छ । रौतहटको बंकुल, रामपुर खाप, मठिया नाका प्रयोग गरेर अवैध भारतीय सामान नेपालतिर प्रवेश गर्दा सशस्त्र प्रहरीको बंकुल युनिट, रामपुर खाप युनिट, मठिया अस्थायी बेस हुँदै फतुवा युनिट तथा देवाही गोनाही युनिट पार गर्दै दुधियाभारको एरियामा भण्डारण भएको थियो ।

चिनी गोदाममा छापा मार्दा डीआईजी ढकाल र गणपति बस्नेत सँगै थिए 

शिवनगरस्थित उपेन्द्र सहनीको घरमा ठूलो परिमाणमा अवैध चिनीलगायतका सामग्री भण्डारण गरिएको पत्ता लागेपछि गत साउन २९ गते सशस्त्र प्रहरी मुख्यालयले त्यहाँ छापा मार्न भनेको थियो । निर्देशनबमोजिम चिनी भण्डारण गरिएको ठाउँमा छापा मार्न सशस्त्र प्रहरी बल दुधियाभार बेसका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र लगेजुको कमान्डको टोली सबैभन्दा पहिला पुगेको थियो । उनको टोली पुगेर अवैध सामान आशंका गरिएको घरलाई घेरा हालेको थियो ।

लगेजुको टोली पुगेपछि सशस्त्र बेस सन्तपुरका डीएसपी राजेन्द्र बस्नेत, सशस्त्र बेस देवाहीका प्रहरी निरीक्षक दधिराम पौडेल र ११ नम्बर गणका प्रहरी निरीक्षक गणेश बोहराको नेतृत्वमा सशस्त्र प्रहरी बलको टोलीले घेरा हालेर विभिन्न कानुनी प्रक्रिया पूरा गरेको थियो । त्यसपछि मुचुल्का टोली लिएर पुग्न माथिल्लो निकायबाट निर्देशन आएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर लामा करिब साढे ४ बजे पुगेका थिए । डीएसपी लामाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका नासु शम्भु राउत, गौर भन्सारका नासु दिनेशकुमार घिमिरे, राष्ट्रिय अनुसन्धानका वरिष्ठ अनुसन्धान सहायक हरिकिशोर सहनी, वडाध्यक्ष रामबाबुप्रसाद चौधरी र वडा सदस्य शम्भु राय यादवको टोली पुगेको थियो ।

त्यहाँ छापा मार्ने, कानुनी प्रक्रिया पूरा गर्ने, मुचुल्का उठाउने काम भइरहँदा ११ नम्बर गणका गणपति सन्तोषकुमार बस्नेत भने बाहिनीपति (डीआईजी) ढकालसँगै बर्दिबासस्थित बाहिनी कार्यालयमा थिए । उनी त्यसै रात रौतहटस्थित गणको कार्यालयमा फर्किएका थिए । 

भिडियो नै सशस्त्र मुख्यालय पुगेपछि बदमासी छताछुल्ल

स्रोतका अनुसार, सहनीको घरमा ठूलो परिमाणमा चिनी लुकाएर राखिएको सूचना सशस्त्र प्रहरीका घुमुवाहरूले केन्द्रीय कार्यालयमा पुर्‍याएका थिए । सशस्त्रका घुमुवा रोशन मिश्र, गगनदेव साह र रविकान्त मिश्रसहितको टोलीले गोदामभित्रै पुगेर भिडियो बनाएका थिए ।

प्रधान कार्यालयमा प्राप्त भिडियोमा ठूलो परिमाणको चिनी लुकाएर राखिएको देखिएपनि मुचुल्का गर्दा भने चिनी १०६ बोरा, सर्फ १० बोरा, रासायनिक मल १० बोरा, सिमेन्ट ९ बोरा भनी देखाइयो । त्यहाँ सिमेन्ट ९ बोरा देखिएपछि यो विषयमा त्यतिबेला नै प्रश्न उठेको थियो । 

त्यसपछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल स्वयंले यो घटनाबारे विस्तृत छानबिन गर्न निर्देशन दिएका थिए । 

प्रारम्भिक जाँचका क्रममा अवैध रूपमा चिनी भित्र्याउने व्यक्तिले केही रकम दिएर करिब ५९४ बोरा चिनी बरामद नगराएको हुनसक्ने आशंका गरिएको छ ।

भिडियो बनाइसकेपछि बार्गेनिङ

भिडियो बनाउने घुमुवाहरूले व्यापारीसँग बार्गेनिङ गरेको स्रोतको भनाइ छ । भनेजति रकम नदिए छापा मार्न लगाउने धम्की उनीहरूले दिएका थिए । त्यसबेला उनीहरूले आफूहरू सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट आएको टोली भएको पनि बताएका थिए ।

अनि सुरु भयो छानबिन…

घटनाको भोलिपल्ट डीएसपी अमर लामासहित डिउटीमा खटिएका करिब १८ जनालाई सशस्त्र प्रहरी बल मधेस प्रदेश कार्यालय छिन्नमस्ता बाहिनीमा हाजिर गराइएको थियो । अनुसन्धानको क्रममा करिब ३ दिन बाहिनीमै राखेर डिएसपी लामालाई हेडक्वाटर पठाइएको थियो । अनुसन्धानको लागि बाहिनीमा बोलाइएका बाँकी १७ सशस्त्र प्रहरी कर्मचारीलाई भने फिर्ता गरिएको थियो । सो घटनामा दुधियाभारका प्रहरी निरीक्षक लगेजुलाई भने नसियत दिइएको छ । मुचुल्का गरिएको पत्रमा उनको हस्ताक्षर रहेकाले उनलाई नसियत दिइएको स्रोतको भनाइ छ । स्रोतका अनुसार, पत्रमा उनको हस्ताक्षर भएपनि छापा मारिएको स्थानमा डीएसपी लामाले उनलाई जान समेत दिएका थिएनन् । 

बाहिनी कार्यालयले एसपी बस्नेतलाई समेत सचेत गराएको छ । 

अहिले यो प्रकरणमा करिब २० जनामाथि छानबिन भइरहेको छ । उनीसँगै छापा मार्न गएका टोलीका सबै सदस्य छानबिनमा छन् । छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासले पनि यो प्रकरणको अनुसन्धान गरिरहेको छ । माथि नाम उल्लेख भएका बाहेक पनि छानबिनमा तानिनेहरूमा नम्बर ११ गण हेडक्वार्टर रौतहटका एक इन्स्पेक्टर, सुरक्षा बेस देवाही रौतहटका एक इन्स्पेक्टर र सुरक्षा बेस दुधियाभारका एक इन्स्पेक्टर पनि छन् । 

छानबिनमा तानिएकामा दुई जना जुनियर सशस्त्र प्रहरी अधिकृत र ११ जना जवान तथा हवलदार रहेका छन् । 

तस्कर जैसवाल र एआईजी ठाडामगरको ‘कनेक्सन’ 

चिनी बरामद गरिएका व्यापारी सुनिल जैसवाल रौतहट चन्द्रनिगाहपुरका बासिन्दा हुन् । व्यापारका नाममा उनले तस्करी धन्दा चलाउँदै आइरहेको सशस्त्र प्रहरीहरू नै बताउँछन् । 

सशस्त्र प्रहरीका उच्च अधिकारीसँगै कनेक्सन मिलाएर सीमाबाट तस्करी गर्दै आएका जैसवालमाथि सशस्त्रको नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति, रौतहटका एसपीदेखि गौर गुल्मसम्मले सेटिङ गरी चिनीदेखि विभिन्न सामानको तस्करी गर्न सहजीकरण गर्ने गरेको आरोप लाग्दै आएको छ । उनको सीमा सुरक्षा विभागका एआईजी गणेश ठाडामगरसँग पनि राम्रो सम्बन्ध रहेको सशस्त्र प्रहरी स्रोतकै भनाइ छ । ठाडामगर यसअघि सोही बाहिनीमा बाहिनीपति रहिसकेका व्यक्ति हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?