रास्वपाबाट उम्मेदवार बनेका थापालाई परिवारले बारम्बार सोधेको थियो– ‘तपाईँको निर्णय सही हो ?’

लोकपथ
16.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. लेखजंग थापालाई आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्राइमरी इलेक्सनमार्फत् सर्ट लिस्टमा परेका ९ जनामध्येबाट रास्वपाले डा. थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आइतबार अबेर रास्वपाले प्राइमरी इलेक्सनबाट विभिन्न मापदण्ड पूरा गर्दै डा. थापालाई अघि बढाउने घोषणा गरेको हो ।

बनस्थलीस्थित पार्टी कार्यालयमा उम्मेदवार घोषणापछि पत्रकार सम्मेलनमा बोल्दै डा. थापाले आफूलाई उम्मेदवार बनाएकोमा पार्टी र रुपन्देहीका जनतालाई धन्यवाद ज्ञापन गरे । साथै आफूले त्यतिठूलो पेसागत जिम्मेवारी छाडेर राजनीतिमा होमिँदा परिवारले बारम्बार प्रश्न गरेको सुनाए । उनले परिवारले बारम्बार राजनीतिको बाटो अप्ठेरो हुने भन्दै प्रश्न गरेको र आफ्नो खुसीलाई नै बिट मारेर आफूलाई साथ दिएकोमा खुसी व्यक्त गरे ।

‘मैले आज भुल्नै नहुने भनेको मेरो आफ्नो परिवारलाई पनि हो । जसले चाँही हजार चोटी सोध्नुहुन्थ्यो कि के तपाईँले सोचेको ठिकै हो ? यो यात्रा अलि गाह्रो छ भनेर भन्दा मैले आफैँले सोच्दा, म त जानुपर्छ यो यात्रामा भनेको थिएँ । अनि उहाँहरुले पनि आफ्नो खुसीलाई बिट मार्दै ठिकै छ एकपटकलाई देशको सेवा गर्नुपर्छ र देशको सेवा गर्नलाई यत्रा दिग्गजहरु लाग्नुभएको छ र उहाँहरुको साथ पाएर तपाईँले जित्नुभयो भने यो देशले नयाँ अनुहार पाएर देशको अनुहार फेर्छ भन्नुभएको थियो । मेरो परिवारले एउटा साहस र विश्वास दिनुभएको छ, त्यसको लागि उहाँहरुलाई धेरै धन्यवाद दिन्छु,’ उनले पत्रकार सम्मेलनमा भने ।
उनले आफ्नो ९६ वर्षको आमालाई सम्झिए । उनले अझै पनि देशमा परिवर्तनको आभास कहिले होला भनेर कुरिरहेको र आफूले त्यसलाई पूरा गर्ने अठोट लिएको बताए ।

डा. थापा पेशाले वरिष्ठ न्युरोलोजिस्ट र सामाजिक अभियन्ता हुन् ।

डा। थापाले नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा लामो समय बिताएका छन् ।

उनले कास्कीको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्युरोलोजी अध्ययन गरेका हुन् । साथै डा. थापा अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?