काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नं ३ का लागि डा. लेखजंग थापालाई उम्मेदवारको रुपमा अघि सारेको छ ।
आज बसेको रास्वपा सचिवालय बैठकले थापालाई उम्मेदवारको रुपमा अघि सारेको हो ।
रास्वपाले प्राइमरी इलेक्सनमार्फत ९ जनालाई सर्ट लिस्टेड गरेको थियो । त्यसमध्ये उत्कृष्टताको आधारमा थापालाई अघि सार्ने निर्णय भएको पार्टी प्रवक्ता मनिष झाले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।
रास्वपाले ३५ दिन लगाएर उम्मेदवार छनोट गरेको हो । रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) ले डा. थापालाई घण्टी दिएर उम्मेदवार रहेको घोषणा गरेका हुन् । साथै सर्ट लिस्टमा परेका अन्य ८ जनालाई आगामी निर्वाचनमा साथमै रहेर सहयोग गर्न समेत आग्रह गरेका छन् ।
आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचन हुँदैछ । अन्य कुनै पनि दलले हालसम्म उम्मेदवार टुंगो लगाएका छैनन् ।
डा. थापा पेशाले वरिष्ठ न्युरोलोजिस्ट र सामाजिक अभियन्ता हुन् ।
डा. थापाले नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा लामो समय बिताएका छन् ।
उनले कास्कीको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्युरोलोजी अध्ययन गरेका हुन् । साथै डा. थापा अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया